नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त अनुगमन टोलिले धम्बोझिस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फ्याँकेवापत् १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
Advertisement
सडकमा जथाभावी औषधिजन्य फोहोर फालेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा, नगर प्रहरी, औषधि व्यवस्था विभाग तथा बाणिज्य कार्यालयको संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो ।
सडकमा जथाभावी फोहोर फालेको नन्दादेवी कन्सर्नलाई १० हजार जरिवानासँगै तीन घण्टाभित्र फोहोर उठाउन निर्देशन दिइएको छ ।
नगरलाई सफा राख्न दैनिक फोहोर संकलन गर्दै आएको नेपालगन्ज उपमहानगरले जथाभावी फोहोर फाल्नेलाई अब जरिवाना नै तिराउने नीति लिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।
नेपालगन्जलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाले फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।









