स्याङ्जा- स्याङ्जाको साविक छाङछाङदी गाविसमा १८ वर्षअघि एक गर्भवती महिलाको संदिग्ध मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा एक जना महिला पुर्पक्षका लागि थुनामा गएकी छन् भने अर्की धरौटीमा रिहा भएकी छन्।
Advertisement
साविक छाङछाङदी गाविस–६ की सञ्जु लामिछाने रेग्मीको २०६५ असोज ३ गते गर्भवती अवस्थामा मृत्यु भएको थियो। उक्त घटनामा सुई तथा औषधि खुवाएर पूर्वयोजना अनुसार हत्या गरिएको भन्दै सञ्जुका श्रीमान् कृष्णप्रसाद रेग्मी र शान्तिदेवी भण्डारीलगायत विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको थियो।
लामो अनुसन्धानपछि प्रहरीले प्रतिवादीहरू शान्ती भण्डारी र पार्वती भण्डारीलाई भदौ ४ गते स्याङ्जा जिल्ला अदालतमा पेस गरेको थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश दत्त अवस्थीका अनुसार अदालतको भदौ ५ गतेको आदेशानुसार:
शान्ती भण्डारी: पुर्पक्षका लागि कारागार चालान (थुनामा)।
पार्वती भण्डारी: अदालतले तोकेको रु. ७५ हजार धरौटी रकम बुझाएर तारेखमा रिहा।
१८ वर्षअघिको यो गम्भीर घटनामा अदालतको पछिल्लो आदेशसँगै कानूनी कारबाहीको प्रक्रिया पुनः अगाडि बढेको छ।








