बाँकेको नौबस्ता बाल सुधार गृहबाट फरार भए १५ बन्दी

 

नेपालगन्ज/ईकान्तिपुर — बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा बाल बन्दीहरुबीचको विवाद शान्त भएपनि त्यहाँ बाट फरार भएका १५ जना अझै भेटिएका छैनन् । सुधार गृहमा झडप र तोडफोडपछि शुक्रबार र शनिबारसम्म पनि विवाद भइरहेको थियो । त्यही मौकामा १५ जना बालबन्दीले सुधार गृह छोडेर फरार भएका छन् ।

Advertisement

अहिले यहाँ सुधार गृहमा १०१ जना बन्दीमात्रै छन् । सुधार गृहमा सुरक्षा कारबाही गर्दा त्यहाँ रहेका चार थान मोबाइल समेत बरामद गरिएको छ । दुई दिनसम्म भित्र बालबालिकाहरुले विभिन्न माग राखेर आन्दोलन गरिरहेका थिए भने बाहिरबाट प्रहरीले सुरक्षा घेरामा राखेको थियो ।

सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको समन्वयमा बालबालिकाले उठाएका जायज माग तत्काल पूरा गर्न पहल गर्ने मौखिक सहमतिपछि विवाद साम्य भएको थियो ।

‘अहिले अवस्था सामान्य छ ।हामीले तत्काल पूरा गर्न सक्ने विषयमा सहमति जनाएका छौं । र केन्द्रमा पहल गर्नुपर्ने विषयमा पनि समन्वय गर्ने भनेका छौं,’ प्रजिअ पोखरेलले भने, ‘बाल सुधार गृहमा १८ वर्ष माथिका सबैलाई कारागारमा नपठाएसम्म यो विषय समाधान हुँदैन ।’

डुडुवास्थित सुधार गृहमा झडप गरेका दुइ समुहबीच पुन: झगडा सुरु भएको नौबस्ता क्षेत्रीय कारागारका जेलर श्याम रानाले बताए ।

बाँकेको डुडुवामा रहेको बाल सुधार गृहमा असोज ४ गते राति बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । अहिले नौबस्ता कारागारमा थप जोखिम हुन सक्ने भन्दै सुरक्षा समेत बढाइएको छ ।

१८ बर्ष पुगेका बालबन्दीहरुलाई नौबस्तामा राख्न सुरु गरिएको हो । नौबस्तास्थित क्षेत्रीय कारागार सञ्चालन गरिए पनि चार वटा ब्लक रहेको क्षेत्रीय कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालनमा छ ।

यसअघि डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहभित्र रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नौबस्तामा सारिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु