काठमाडौँ/ईकान्तिपुर— शीतलहर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ नागरिक, न्यानो कपडाको कम पहुँच भएका समूहलाई लक्षित गरि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ ।
Advertisement
जेष्ठ नागरिक, बालबालिका, विपन्न वर्ग र न्यानो कपडा र वासस्थानमा पहुँच नपुगेका व्यक्ति/ समूह प्रभावित हुन सक्ने र रोगको जोखिममा रहन सक्ने भन्दै केही साता अघि स्वीकृत ‘शीत लहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०’ बमोजिम सक्रियता बढाउन सरोकारवाला निकाय/संस्था सबैलाई प्रशासनले लिखित अनुरोध गरेको थियो ।
वन कार्यालय र सामुदायिक वनहरूसँग समन्वय गरि सहुलियत दरमा दाउरा लिएर सामूहिक आगो ताप्ने ( धुनी /घुर ) प्रवन्ध मिलाउन स्थानीय सरकारसहित सबैलाई प्रशासनले अनुरोध गरेको छ ।
शनिबार प्रजिअ श्रवणकुमार पोखरेलको नेतृत्वमा नेपाली सेनाका गणपति रविन श्रेष्ठ, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, सप्रउपरीक्षक रमेशविक्रम शाहीसहितको टोलिद्वारा बालबालिका, जेष्ठ नागरिक, न्यानोमा कम पहुँच भएका समूहलाई लक्षित गरि सामुहिक आगो ताप्ने व्यवस्था मिलाइको हो ।
नेपालगन्जस्थित निल सागर, मानव सेवा आश्रम, बढी भिडभाड हुने स्थान, चोकहरूमा सामूहिक आगो ताप्ने प्रबन्ध मिलाइएको छ ।









