काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन (असोज १, २ र ३ गते) देशका साना–ठूला नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार प्रमुख नदी प्रणालीहरू तथा केही साना खोलाहरूमा आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिम रहेको छ।
Advertisement
विभिन्न नदी जलाधारको अवस्था
-
कोशी जलाधार: चतरास्थित सप्तकोशी, त्रिवेणीको तमोर, सिम्लेको अरुण, खुवाबजारको दुधकोशी र हम्पचुवारको सुनकोशी नदीमा असोज १ देखि ३ गतेसम्म नै जलसतह उल्लेख्य बढ्नेछ। तामाकोशी नदीमा असोज २ र ३ गते बहाव उच्च हुनेछ।
-
नारायणी जलाधार: देवघाटको नारायणी, बेत्रावतीको त्रिशुली, आरूघाटको बुढीगण्डकी, विमलनगरको मर्स्याङ्दी, दमैलीको सेती र कुमालगाउँको कालिगण्डकीमा तीनै दिन जलस्तर उल्लेख्य बढ्नेछ।
-
महाकाली, बागमती र पूर्वी राप्ती: पारिगाउँस्थित महाकाली नदीमा आगामी तीन दिन जलसतह उल्लेख्य बढ्नेछ। पधेशदोभानको बागमती र रजैयाको पूर्वी राप्तीमा असोज १ गते जलसतह उल्लेख्य बढे पनि २ र ३ गते सामान्य वृद्धि हुनेछ।
-
कर्णाली, बबई, कन्काई र पश्चिम राप्ती: कर्णालीको चिसापानी र असाराघाट, भेरीको समजिघाट, पश्चिम सेतीको दिपालय, कन्काई, कमला, पश्चिम राप्ती र बबई नदीमा आगामी तीन दिनसम्म जलस्तर सामान्य रूपमा बढ्नेछ।
जोखिमयुक्त जिल्ला र साना नदीहरू
असोज १ गते ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा, अछाम र आसपासका जिल्ला भई बहने साना खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ।
आगामी दुई दिनको पूर्वसूचना:
-
असोज २ गते: सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने।
-
असोज ३ गते: कोशी र मधेश प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना।
महाशाखाले नदी तटीय क्षेत्र तथा बाढीको जोखिम भएका स्थानहरूमा बसोबास गर्ने सर्वसाधारणलाई पूर्वसावधानी र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।








