बर्दिया निकुञ्जको गोदामबाट बाघका २५ वटा दाह्रा र गैंडाको खाग गायब

 

काठमाडौं /अनलाइनखबर । बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटे बाघका २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको पाइएको छ ।

Advertisement

निकुञ्जमा नयाँ वार्डेनका रुपमा अशोक भण्डारी गएपछि जिन्सी शाखामा दाह्रा र गैंडाको खाग गायब भएको विषय बाहिर आएको हो । यद्यपि, भण्डारीभन्दा अघिका वार्डेन विष्णुप्रसाद श्रेष्ठले आफू कार्यरत् रहँदा बाघको दाह्रा र गैंडाको खाग गोदामबाट हराएको थाहा पाइसकेका थिए ।

छानबिनमा संलग्नहरुका अनुसार, उनीहरुले यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई समेत जानकारी गराएका थिएनन् । श्रेष्ठले आफूलाई बाघको दाह्रा र गैंडाको खाग हराएकोबारे जानकारी नभएको दाबी गरे ।

‘स्टोर निरीक्षण गरेर त्यतिबेलै प्रमाणित गरेर बुझाएर म हिँडेको हुँ’, उनले भने, ‘त्यतिबेला हराएको विषयवस्तु नै आएको थिएन ।’ श्रेष्ठको सरुवा भएर भण्डारी गएपछि हराएको थाहा हुँदा २२ असोज २०७९ मा विभागलाई यसबारे पत्राचार भएको थियो ।

निकुञ्ज विभागले अनुसन्धान अधिकृत मनोज शाहको नेतृत्वमा कानून मन्त्रालय, नेपाली सेनाको जंगीअड्डा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतको प्रतिनिधित्व हुने गरी छानबिन समिति गठन गरेको थियो ।

समितिले स्टोरकिपर सिनियर गेमस्काउट सुभासकुमार थारु र गेमस्काउट उपारसिंह लामालाई शंकास्पद मान्दै निलम्बन गरेर छानबिन गर्नुपर्ने भनेको थियो । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उनीहरुलाई सरुवा मात्र गरेर छाडेको छ ।

  • यसरी गायब भयो दाह्रा र खाग
    निकुञ्जबाट हराएको आखेटोपहार हराएकोबारे छानबिन गर्न बनेको समितिका सदस्यहरु स्थलगत अध्ययनमा जाँदा भण्डारण कक्ष एकदमै अव्यवस्थित पाइएको समितिका एक सदस्य बताउँछन् ।

‘महिला कर्मचारीको आवासीय भवनको पुरानो कोठामा आखेटोपहार भण्डारण गर्ने गरेको पाइएको छ’, उनले भने, ‘निकै अव्यवस्थित भण्डारण कक्षको कोठाको कब्जा उक्काइएको छ भने त्यसभित्र रहेको बाकसको एउटा ताला र चुकुलसहितको कब्जा पनि उक्काएको भेटिएको छ ।’

समितिले सोधेको स्पष्टीकरणमा सिनियर गेम स्काउट सुवास थारुले कार्यालयको जिन्सी शाखामा कुनै पनि भण्डारण कक्ष नरहेको भन्दै ‘सुरुवात्देखि नै पहिला कर्मचारीको आवासीय भवनको एउटा कोठामा टिनको बाकसमा राख्ने गरेको’ भनेका थिए ।

सोही कोठामा मुद्दामा समातिएका जडीबुटी र लिलाम बिक्री गर्नुपर्ने सामानहरु पनि राख्ने गरेको उनले भनेका थिए ।

‘महिला कर्मचारी मात्र बस्ने भएकाले सुरक्षित हुन्छ कि भन्ने लागेको थियो, भवनमा बाहिरबाट आउन जान कोही मिल्दैनथ्यो’, उनले भनेका छन्, ‘पुरुष कर्मचारीहरुलाई समेत त्यहाँ जान अप्ठ्यारो तथा महिला कर्मचारीहरुको श्रीमान्, भवनको विद्युत् र अरु कुनै मर्मत कार्य गर्ने बाहेक कोही नजाने भएपछि आखेटोपहार जस्ता बहुमुल्य सामानहरु असुरक्षित छ भन्नेतिर कसैको ध्यान गएन ।’

तर, २२ साउन २०७९ मा मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको गैंडाको एउटा खाग र १२ वटा खुर राख्न जाँदा टिनको बाकस सही अवस्थामा नरहेको थाहा पाएको उनले भनेका छन् । ‘मेरो अर्को काम भएको कारणले पोका र थैली भित्रको आखेटोपहार हेर्न भ्याएको थिइनँ’, उनले भनेका छन् ।

छानबिन समितिका सदस्यहरुका अनुसार, बाघको दाह्रा र गैंडाको खाग २०७८ को चैत महिनासम्मको गणनामा उल्लेख छ । ‘२०७९ वैशाखदेखि २०७८ साउन २२ गतको अवधिमा हराएको देखिन्छ’, छानबिन समिति स्रोतले भन्यो ।

समिति स्रोतका अनुसार, बाघको दाह्रा र गैंडाको खाग हराएको अवधिमा दिलकुमारी चौधरी, सविता गुरुङ, मनकुमारी सोती र रिता सुब्बा गरेर ४ जना महिला कर्मचारी त्यहाँ बसेको पाइएको छ ।

यशोदा पुन र सीता कुमारी कँडेल उक्त भवनमा नबसे पनि छानबिनको दायरामा ल्याउनुपर्ने भनिएको थियो । भित्रको कर्मचारीको मिलेमतोविना गायब बनाउन सम्भव नहुने भन्दै गम्भीर छानबिन हुनुपर्ने समितिले बनेको थियो ।

सबैलाई स्पष्टीकरण सोधिए पनि छानबिन समिति सामान गायब गर्न कसको संलग्नता थियो भन्ने विषयको निष्कर्षमा समिति पुगेको थिएन । ‘स्टोरबाट सामान हराएपछि स्टोरकिपरले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ, त्यसैले उहाँहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ को दफा २६ (१) अनुसार नै कारबाही प्रक्रिया अघि बढाउनुपर्छ भनेका थियौं’, छानबिन समितिका एक सदस्यले भने, ‘तर विभागले अनौठो तरिकाले उनीहरुलाई यसमा जिम्मेवार बनाउन चाहेन, यति ठूलो घटनालाई विभागले सामान्य रुपमा लिएको देखिन्छ ।’

स्टोरकिपरमाथि विस्तृत छानबिन गर्न सिफारिस

छानबिन समितिले निकुञ्जको भण्डारणबाट बाघको दाह्रा र गैंडाको खाग गायब भएको प्रकरणलाई ‘आपराधिक घटना’ भन्दै गम्भीर अनुसन्धान गर्नुपर्ने भनेको थियो ।

स्टोरकिपरले समेत केही प्रश्नको सन्तोषजनक जवाफ नदिएको भन्दै उनलाई निलम्बन गरेर कानून अनुसार कारबाही एवं अनुसन्धान अघि बढाउनुपर्ने भनेको थियो ।

तर, स्टोरकिपरमध्ये सिनियर गेम स्काउट लामा अहिले शिवपुरी राष्ट्रिय निकुञ्जमा सरुवा गरिएका छन् भने सुवास थारु बर्दियाकै एक पोष्टमा पठाइएका छन् । जबकि, छानबिन समितिले उनीहरुलाई निगरानीमा राखेर अनुसन्धान गर्नुपर्ने भनेको थियो ।

उनीहरुलाई निलम्बन गरेर विस्तृत छानबिन गर्नुपर्नेमा त्यसमा विभागले गम्भीरता नदेखाएको अधिकारीहरु बताउँछन् ।

छानबिन समितिले एक कर्मचारीको आयव्ययय विवरण पनि अस्वभाविक देखिएको भनेको थियो । समितिले त्यसमा थप छानबिनको खाँचो औंल्याएको थियो । कर्मचारीबीचको फोन संवादको पनि गहिरो अनुसन्धान गर्नुपर्ने भनेको थियो ।

शंकामा रहेका सबै कर्मचारीको कल डिटेल रेकर्ड (सीडीआर), आर्थिक कारोबार, सम्पत्ति, मोबाइल लगायतको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) बाट जाँच हुनुपर्ने भनेको थियो ।

समितिले आगामी दिनमा यस्तो घटना हुन नदिन वन्यजन्तु अपराधसँग सम्बन्धित यस्ता दसी प्रमाण र आखेटोपहार राख्नका लागि एउटा कम्प्लेक्स निर्माण गरेर त्यसलाई चारैतिरबाट क्लोज सर्किट (सीसी) क्यामराको निगरानीमा राख्नुपर्ने भनेको छ ।

‘संरक्षित वन्यजन्तुको आखेटोपहार, भरुवा बन्दुक तथा अन्य कुनै मूल्यवान सामग्रीको सुरक्षाको लागि बलियो कोठाको छनौट गर्ने, झ्याल, ढोका, चुकुल, ताल्चा सबै गुणस्तरयुक्त हुनुपर्ने तथा सकेसम्म ३ स्तरको सुरक्षा सुनिश्चित गरेर मात्र भण्डारण गर्नुपर्छ’, समितिले भनेको छ ।

यो विषय बाहिर आउँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा महानिर्देशक रहेका डा. महेश्वर ढकालले भने यो विषयमा विभाग, सीआईबी र अन्य निकायबाट छानबिन भइरहेको बताए । ‘मैले छाडेर आएको पनि ६ महिनाजति भइसक्यो, त्यसैले अहिले यो विषयमा मलाई धेरै जानकारी छैन’, उनले भने ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु