‘जेनजी’ प्रदर्शनका क्रममा बाँकेमा आगजनीमा नष्ट ३१ हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता पुनः कायम

नेपालगन्ज (बाँके)। गत वर्ष ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनीमा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय, नेपालगन्जले नष्ट भएका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) सम्बन्धी अभिलेख पुनः कायम गर्ने कामलाई तीव्रता दिएको छ।

कार्यालयका अनुसार गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ वटा जग्गाको जग्गाधनी प्रमाणपुर्जासँग सम्बन्धित स्रेस्ता पुनः कायम गरिएको छ। आगजनीमा कार्यालयका महत्त्वपूर्ण कागजात नष्ट भएपछि अभिलेख पुनःस्थापना गर्ने कामलाई प्राथमिकतामा राखिएको हो।

Advertisement

विसं २०८२ भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा आगजनी भएको थियो। आगलागीबाट कार्यालय भवनसँगै विभिन्न महत्त्वपूर्ण कागजात र अभिलेखमा क्षति पुगेपछि असोज र कात्तिक महिनामा कार्यालयको सेवा प्रभावित भएको थियो।

त्यसपछि मङ्सिर १ गतेदेखि विद्युत् रोडस्थित भाडाको भवनबाट कार्यालयले पुनः सेवा सञ्चालन गर्दै आएको छ।

भूमि प्रशासन कार्यालय बाँकेका प्रमुख सन्तोष विकका अनुसार आगजनीबाट नष्ट भएका स्रेस्ता पुनः कायम गर्ने कार्य निरन्तर भइरहेको छ। सेवाग्राहीको चाप बढी हुने दिनमा भीड बढे पनि सेवा प्रभावित हुन नदिने गरी काम भइरहेको उहाँले बताउनुभयो।

“जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएका छौँ। सेवाग्राहीको चाप भए पनि सकेसम्म सहज रूपमा सेवा दिने प्रयास भइरहेको छ,” प्रमुख विकले भन्नुभयो।

कार्यालयका अनुसार विसं २०७४ पछिका अधिकांश जग्गासम्बन्धी अभिलेख डिजिटल प्रणालीमा रहेकाले तिनको स्रेस्ता पुनः कायम गर्न तुलनात्मक रूपमा सहज भएको छ। डिजिटल अभिलेखका कारण आवश्यक विवरण खोजी तथा प्रमाणीकरण गर्न कम समय लाग्ने गरेको कार्यालयले जनाएको छ।

आगजनीपछि अस्थायी रूपमा भाडाको भवनबाट सेवा दिइरहेको भूमि प्रशासन कार्यालयका लागि नष्ट भएका पुराना अभिलेख पुनःस्थापना गर्नु अहिलेको प्रमुख काममध्ये एक बनेको छ।

हजारौँ जग्गाको अभिलेख पुनः कायम गर्ने प्रक्रिया अघि बढिरहँदा डिजिटल अभिलेखले कामलाई केही सहज बनाए पनि पुराना स्रेस्ताको यकिन तथा प्रमाणीकरण भने अझै चुनौतीका रूपमा रहेको कार्यालयले जनाएको छ।

कार्यालयमा आउने सेवाग्राहीलाई प्रक्रिया बुझाउन र आवश्यक सहजीकरण गर्न सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। उक्त कक्षबाट सेवाग्राहीलाई आवश्यक सूचना, कागजात र प्रक्रियाबारे जानकारी दिनुका साथै सम्बन्धित शाखासँग समन्वयसमेत गरिँदै आएको कार्यालयले जनाएको छ।

प्रमुख विकले विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको अवस्थाबाहेक अन्य समयमा सेवाग्राहीको काम अनावश्यक रूपमा रोक्ने अवस्था नरहेको बताउनुभयो।गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु