नयाँ विशेषतासहितको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले साविककै आकार तथा रङमा, नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नयाँ नोट चलनचल्तीमा ल्याइएको हो ।

Advertisement

नयाँ ५० रुपैयाँको नोटका प्रमुख विशेषता यस्ता छन् :

नोटको अगाडिको भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश रहनेछ ।
बाँयातर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । सोको मुनि ‘५०’ अंकित पानीछापमा समेत छ ।
नोटको तल्लो खण्डमा सिरिज नम्बर वि.सं. २०८२ लेखिएको छ ।
नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत छ ।
नोटमा १.२ मिलिमिटर चौडा भएको कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ । त्यसलाई प्रकाशतर्फ पारेर हेर्दा धागो पूर्ण रूपमा देखिन्छ । उक्त धागोमा ‘NRB’ लेखिएको छ ।
नोटको पछाडि मध्य खण्डमा हिउँ चितुवाको चित्र तथा त्यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ ।
तल्लो खण्डमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले यसअघि २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको (सिरिज २०१९) का नोट संकेत नम्बर ज ८९ ०००००१ देखि ट ३३ ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने भनेर सूचना जारी भए पनि ज ८९ ००००००१ देखि ट २३ ९००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु