बर्दिया । माघी मनाएसंगै पश्चिम तराईका थारु गाउँहरुमा अगुवा बडघर छनौटका लागि भेला र छलफल हुन थालेको छ । माघीको दोस्रो सातासम्म बडघर छनौट भइसक्ने छन् ।
समुदायका लागि रातदिन समय दिनसक्ने व्यक्तिहरुलाई बडघर बनाउनका लागि भेला र छलफल हुन थालेको हो । त्यस्तै बडघरले वर्षभरीमा गरेका काम कारवाही बारे सुनवाईको तयारी भइरहेको छ । थारु समुदायको नयाँ वर्ष माघी मनाईपछि गाउँगाउँमा बडघर छनौट गरिन्छ ।
Advertisement
गाउँको विकास, कुलो मर्मत, सार्वजनिक कार्यहरु उनीहरुकै नेतृत्वमा गरिन्छ । सानातिना विवादहरु बडघरले नै समाधान गर्दै आएका छन् । गाउँ चलाउनका लागि आवश्यक पर्ने नीति नियमहरु बडघरकै नेतृत्वले बनाईन्छ । त्यसैले गाउँका हरेक नेतृत्वमा बडघरनै आगडि सर्छन् । बडघरकै इसारामा गाउँ चल्ने भएका कारण राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई अगुवा बनाउने प्रयास गर्छन । बाँके बैजनाथ गाउँपालिका फत्तेपुरका पुर्ब बडघर चन्द्र चौधरीले गाउँमा भेला हुन थालेको जनाए । ‘हाम्रो गाउँमा बडघर छनौटका लागि दुई पल्ट भेला भइसक्यो । दुई÷तीन जनाको नाममा छलफल भइरहेको छ,’ उनले भने,‘एक दुई दिनमा छलफल गरेर टुगिन्छ ।’
पछिल्लो समय बडघर बन्न खोज्नेहरुको संख्या घट्न थालेको छ । बडघरले गाउँको अगुवाई गर्दा कुनै परिश्रमिक पाउँदैनन् । सडक तथा कल्भर्ट निर्माणलगायतका विकासका काम, बर्षमा गाउँमा गरिने पूजा, विवाह, मृत्यु संस्कारका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था बडघरको अधिकार भित्र पर्छन । कुनै घटना भए बडघरले छलफल गर्छन । सानातिना विवाद उनीहरुले नै मिलाउनु पर्छ ।
समुदायका लागि २४ घण्टा समय दिनु पर्दा घरको काम गर्न भ्याउँदैनन् । त्यसैले पनि बडघर बन्नका लागि अगाडि सर्ने व्यक्तिहरु कमै हुन्छन् । ‘स्थानीय सरकारले बडघरलाई कानुनी मान्यता दिएर केही पारिश्रमिकको व्यवस्था गरेको भए हुन्थ्यो । तर पारिश्रमिक नमिल्ने भएकाले बडघर बन्न रुची राखिदैन,’ अर्का बडघर भूपाल चौधरी भन्छन्,‘बडघर बनेपछि आफ्नो काम गर्न पाईदैन ।’ गाउँका सर्वसाधारण विरामी पर्दा झारफुक र थारु कुल देबीदेउताको पूजा गर्नका लागि गुरुवा चयन गरिन्छ । गाउँको सुरक्षाका लागि रात्रीगस्ती गर्न चौकदारमा नियुक्त गर्ने परम्परा छ ।
पछिल्लो समय परम्परागतरुपमा छानिने उक्त प्रथामा राजनीतिले पनि स्थान पाउन थालेको छ । राजनीतिक दलका स्थानीय नेताहरुले आफ्ना निकटलाई बडघर बनाउने प्रयास गरिरहेको अगुवाहरु बताउँछन् । तर सर्बसम्मत हुन नसकेका गाउँमा भने चुनावसमेत हुने गरेको छ ।









