देवानगञ्जमा अज्ञात समूहको गोली प्रहारबाट स्थानीय युवक घाइते, दुई जना नियन्त्रणमा

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर एक स्थानीय युवक गम्भीर घाइते भएका छन्।

देवानगञ्ज–१ का वडाध्यक्ष सूर्यनारायण पालका अनुसार गोली लागेर घाइते हुनेमा स्थानीय निरज यादव रहेका छन्। उनको तिघ्रामा गोली लागेको छ। घाइते यादवको हाल विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ भने अन्य संलग्नहरूको खोजी कार्य तीव्र पारिएको छ।

“घाइतेको तिघ्रामाथि चोट छ र गोली लागेको भनिए पनि हालसम्म हतियार बरामद भइसकेको छैन,” डीएसपी खड्काले भने, “हामी घटनाको गम्भीरतापूर्वक थप अनुसन्धान गर्दैछौँ।”

घटनालगत्तै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। सम्भावित तनाव र थप क्षति हुन नदिनका लागि प्रहरीले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै उच्च सतर्कता अपनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु