बाँकेमा तरकारीले पायो उचित मूल्य: व्यावसायिक खेतीतर्फ आकर्षित बन्दै किसान

नेपालगन्ज — बाँकेमा उत्पादन भएको सागसब्जीले बजारमा राम्रो मूल्य पाउन थालेपछि स्थानीय किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानहरू पनि अहिले आधुनिक तथा व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएका हुन्।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लामा हाल ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब १३ मेट्रिक टन सागसब्जी उत्पादन हुँदै आएको छ। तरकारीलाई नगदे बालीका रूपमा लिँदै किसानहरूको आकर्षण निरन्तर बढ्दो क्रममा रहेको उनले बताइन्।

Advertisement

भारतीय आयातमा कडाइ, स्वदेशी उत्पादनलाई फाइदा
भारतबाट भन्सार छलेर वा सस्तो मूल्यमा आउने तरकारी आयातमा कडाइ गरिएपछि स्थानीय उत्पादनले उचित बजार र मूल्य पाएको हो। रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतीसरा थापा क्षेत्रीले भन्सार प्रक्रिया कडाइ भएपछि भारतीय तरकारीको आयात घटेको र नेपालगन्जको रानीतलाउ बजारमा अहिले मुख्यतया बाँकेकै उत्पादन बिक्री भइरहेको जानकारी दिइन्।

थोक व्यवसायी मोहियुद्दिन राईका अनुसार पहिले भारतीय सस्तो तरकारीसँग प्रतिस्पर्धा गर्न नसकेर घाटा व्यहोर्दै आएका स्थानीय किसानले अहिले खेतबारीबाटै राम्रो मूल्य पाउन थालेका छन्।

कहाँ–कहाँ हुन्छ व्यावसायिक खेती?
बाँकेका विभिन्न क्षेत्रहरू तरकारी खेतीका पकेट क्षेत्रका रूपमा विकसित भइरहेका छन्:

डुडुवा गाउँपालिका: वडा नं. ६ (हिरमिनिया)

नेपालगन्ज उपमहानगरपालिका: भवानीयापुर (वडा १४), परसपुर (वडा १७), वसुदेवपुर (वडा १९), पुरैनी (वडा २१) र पुरैना (वडा २२)

नेपालगन्ज–१५ जयसपुरका किसान असलम राईले भने, “पहिले तरकारी बेच्न टाढा-टाढासम्म पुग्नुपथ्र्यो। अहिले व्यापारीहरू खेतबारीमै आएर राम्रो मूल्यमा किन्ने गरेकाले गाउँभरि नै तरकारी खेती गर्नेहरूको लहर चलेको छ।”

कृषि ज्ञान केन्द्रको सहयोग
महिला तथा बालबालिका पोषण सुधार कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र बाँकेले १ हजार ३५० जना किसानलाई लौका, फर्सी, करेलालगायतका हिउँदे तरकारीका बिउहरू निःशुल्क वितरण गरेको छ।

हाल नेपालगन्जको बजारमा स्थानीय स्तरमै उत्पादन भएका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेँडा तथा खुर्सानीजस्ता ताजा तरकारीहरूको वर्चस्व रहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु