काठमाडौँ — अविरल वर्षाका कारण आएको बाढी र पहिरोले बागमती र कोशी प्रदेशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेश: रसुवा, नुवाकोट, धादिङ र बीपी राजमार्ग प्रभावित
रसुवा: बाढीका कारण जिल्लाका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहने प्रहरीले जनाएको छ।
Advertisement
नुवाकोट:
विदुर–१०, सिमटार: बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा ठप्प छ।
शिवपुरी–८, घट्टेखोला: टोखा–छहरे सडकखण्डमा बाढी–पहिरोको जोखिम बढेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
धादिङ: बेनीघाट रोराङ गाउँपालिकाको ज्वालामुखी र शीतलबजार क्षेत्रमा पहिरो खसेकाले पृथ्वी राजमार्ग हाल एकतर्फी रूपमा मात्र सञ्चालनमा छ।
बीपी राजमार्ग: खुर्कौली–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड बाढीका कारण प्रभावित भएको छ।
कोशी प्रदेश: संखुवासभामा कोशी राजमार्ग ठप्प
संखुवासभा: मकालु गाउँपालिका–४ स्थित नेता भीरमा ठूलो पहिरो खसेकाले कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक विभाग तथा सुरक्षा निकायले पहिरो हटाई यातायात पुनः सञ्चालन गर्ने प्रयास गरिरहेका छन्। जोखिमपूर्ण सडकखण्डमा यात्रा गर्दा पूर्वसावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।








