बर्दिया— पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत बर्दियाको बारबर्दियामा गुडिरहेको एउटा विद्युतीय सवारी साधन (ईभी हाइस) मा अचानक आगलागी भएको छ। कोहलपुरबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र ०१-००२ ज ४३३ नम्बरको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो।
बारबर्दिया नगरपालिका–७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक राजमार्गमा गुडिरहेकै अवस्थामा गाडीमा एक्कासी आगो सल्किएको थियो।
Advertisement
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार घटनाका समयमा गाडीमा चालक र सहचालक मात्र सवार रहेकाले कुनै मानवीय क्षति हुन पाएन। गाडी धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए।
कागजात र नगद नष्ट, राजमार्ग सञ्चालनमै
आगलागीबाट मानवीय क्षति नभए पनि गाडी, सवारी कागजात र गाडीमा रहेको ४२ हजार रुपैयाँ नगद जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै खटिएको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीका बाबजुद महेन्द्र राजमार्गमा सवारी साधनको आवागमन भने नियमित नै रहेको छ।








