बर्दियालाई चिनाउन ठाकुरद्वारामा ‘बर्दिया डिजिटल मेला’

बर्दिया — बर्दियालाई चिनाउन ठाकुरद्वारामा ‘बर्दिया डिजिटल मेला’ कथादेखि यात्रासम्म आयोजना गरिएको छ । सोसल मिडियाको युगमा बर्दियामा रहेका कथा, संस्कृति र यहाँका पर्यटकीय क्षेत्रको डिजिटल माध्यमबाट व्यापक रूपमा प्रचारप्रसार गरी देश–विदेशमा चिनाएर अधिकभन्दा अधिक आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले ‘बर्दिया डिजिटल मेला’ कथादेखि यात्रासम्म आयोजना गरिएको हो । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा द एसिया फाउन्डेसनको सहयोगमा आइतबार ठाकुरद्वारामा डिजिटल मेला सम्पन्न भएको हो ।

डिजिटल मेलामा देशभरका तमाम चर्चित कन्टेन्ट क्रियटरहरूको सहभागिता रहेको थियो । डिजिटल मेलामा नेपालका चर्चित एवं स्थापित कन्टेन्ट क्रियटर हेमन्त भण्डारी र आश्विन न्यौपानेले बर्दियालाई बाघबाहेक यहाँको कल्चर र स्थानीय खानाका परिकारले समेत चिनाउन सकिने बताएका थिए । यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा मन्दिरलगायत पर्यटकीय क्षेत्र, यहाँको संस्कृति र स्थानीय खानाका परिकारलगायतका हरेक कुराको राम्रो कन्टेन्ट बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन सकिने उनीहरूले धारणा राखेका थिए । कन्टेन्ट क्रिएट गरी यहाँका कथाहरूलाई निरन्तर रूपमा बाहिर ल्याउन स्थानीय कन्टेन्ट क्रियटरहरूलाई राम्रो अवसर रहेको चर्चित कन्टेन्ट क्रियटरहरूले बताएका थिए ।

Advertisement

डिजिटल मेलामा स्थानीयहरूले उत्पादन गरेका हस्तकलाका सामग्री, स्थानीय खानाका विभिन्न परिकार, बर्दियाका बारेमा लेखिएका पुस्तक तथा बाघको तस्बिर छापिएको कपडालगायतका स्टल प्रदर्शनीका रूपमा राखिएको थियो । यस्तै यहाँको संस्कृति झल्काउने भेषभुषासहितको नृत्यसमेत प्रदर्शन गरिएको थियो ।

प्रकृतिले हामीलाई प्रकृति र संस्कृति दुवै चिज दिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताए । ‘ठाकुरबाबा नगरपालिकाको समुन्नतिका लागि कृषि र पर्यटन प्रमुख आधार भएकाले त्यसअनुरूपका गतिविधि अघि बढाइरहेका छौं,’ नगर प्रमुख लम्सालले भने, ‘यहाँको प्रकृति र संस्कृतिलाई विश्वमा चिनाउनका लागि बर्दिया डिजिटल मेलाको आयोजना गरिएको हो ।’ यस मेलाले यहाँ लुकेर रहेका कथा बाहिर ल्याएर विश्वमा चिनाउन मद्दत पुग्ने नगर प्रमुखले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु