बाबरी मस्जिद भत्काइएको स्थलमा नवनिर्मित मन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा

 

बीबीसी । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या नगरमा बनाइएको भव्य राममन्दिरको उद्घाटनका अवसरमा आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भए।

Advertisement

सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६औँ शताब्दीको मस्जिदलाई त्यसले विस्थापन गरेको छ। उक्त विध्वंसपश्चात् देशभरि दङ्गा फैलिँदा झन्डै २,००० जनाको ज्यान गएको थियो।

मन्दिर निर्माणले उक्त तनावग्रस्त नगरमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा भएको छ।

हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन्। उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ।

तर केही हिन्दू सन्त नेता तथा विपक्षीहरूले भने मन्दिरमा हुन लागेको प्राणप्रतिष्ठालाई नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै उक्त कार्यक्रममा सहभागी भएनन्।

अयोध्या रामको जन्मभूमि भएको अनि रामको जन्मस्थानमा रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको कैयौँ हिन्दूहरूले विश्वास गर्छन्।

भाजपाको उदय
सोही स्थानमा राममन्दिर बनाउने अभियान चलाएकै कारणले भारतीय जनता पार्टीको सन् १९९० को दशकमा राजनीतिक उदय भएको ठानिन्छ।

झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर तीनतले छ।

अयोध्यामा एक सन्त तस्बिर स्रोत,REUTERS
पिङ्क स्यान्डस्टोन तथा ब्ल्याक ग्रनाइटले बनेको उक्त संरचना ७.२ एकडमा फैलिएको छ। समग्र मन्दिर परिसर झन्डै ७० एकडमा फैलिएको छ।

प्रधानमन्त्री मोदीले अहिले केवल भुइँतलाको मात्र उद्घाटन गरेका हुन्। बाँकी भागको निर्माण कार्य यो वर्षको अन्त्यतिर सम्पन्न हुने ठानिएको छ।

मन्दिरमा राख्न बनाइएको करिब सवा चार फिट अग्लो रामको मूर्ति गत साता मात्र सार्वजनिक गरिएको थियो।

मूर्तिलाई मन्दिरको गर्भगृहमा रहेको सिङ्गमरमरको आसनमा विराजमान गराइएको छ।

सोमवारको समारोहमा रामको प्रतिमामा प्राणप्रतिष्ठा गरियो।

त्यस क्रममा धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवं वैदिक विधिविधानमार्फत् मूर्तिलाई ‘जीवन्त’ बनाइएको थियो।

‘व्यग्र प्रतीक्षाको घडी’
प्रधानमन्त्री मोदीले मन्दिर निर्माणलाई ठूलो उपलब्धिको सङ्ज्ञा दिएका छन् र समस्त देशले ज्यानुअरी २२ लाई व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको बताएका छन्।

“कैयौँ पुस्ताले यो समयको प्रतीक्षा गरेका थिए,” यसै महिना उनले दिएको सन्देशमा मोदीले भनेका थिए। प्राणप्रतिष्ठा समारोहमा आफूले भारतका एक अर्ब ४० करोड मानिसको प्रतिनिधित्व गर्ने उनले बताए।

अयोध्यातस्बिर स्रोत,GETTY IMAGES
विपक्षीहरूको आफ्नै कार्यक्रम
यद्यपि केही महत्त्वपूर्ण धार्मिक नेताहरूले चाहिँ मन्दिरको निर्माण अपूर्ण भएको हुँदा त्यहाँ त्यस्ता कर्मकाण्ड गर्नु हिन्दू मान्यताविपरीत भएको भनेका छन् भने कैयौँ विपक्षी नेताहरूले भने समारोहमा भाग नलिने घोषणा गरेका थिए।

भारतमा आगामी केही महिनामा निर्वाचन हुँदै छ।

मोदीका राजनीतिक विरोधीहरूले उनले मन्दिरको नाममा भोट माग्न लागेको आरोप लगाएका छन्। भारतका ८० प्रतिशत जनता हिन्दू धर्मावलम्बी छन्।

विपक्षी दलहरूको नेतृत्व रहेका केही राज्यहरूले सोमवार आआफ्नै कार्यक्रम राखेका छन्।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले कोलकाताको प्रसिद्ध काली मन्दिरमा प्रार्थना गर्ने बताएकी थिइन्।

पूर्वी राज्य ओडिशाले जगन्नाथ मन्दिरमा भक्तहरूलाई निम्त्याउने ठूलो योजना अघि सारेको थियो।

सुरक्षा प्रबन्ध
अयोध्यामा सुरक्षाकर्मीतस्बिर स्रोत,EPA-EFE/REX/SHUTTERSTOCK
अयोध्यामा सुरक्षा व्यवस्था र आवतजावत मिलाउन हजारौँ प्रहरीलाई खटाइएको छ।

भाजपाको गेरु रङ्गको झण्डा अनि हिन्दू देवीदेवताका चित्रहरू मुख्य सडकवरपर राखिएको देखिन्छ। कैयौँ सडकमा पहेँला अनि सुन्तला रङ्गका सयपत्री फूल सजाइएको छ।

मन्दिरको निर्माण सम्पन्न भएपछि त्यहाँ प्रतिदिन डेढ लाख आगन्तुकहरूले भ्रमण गर्ने अधिकारीहरूको अपेक्षा छ। आगन्तुकहरूको भिडलाई थेग्न नगरमा महिनौँदेखि निर्माणको काम धमाधम भइरहेको छ।

केही सातायता नयाँ विमानस्थल र नयाँ रेलवे स्टेशन खुलेका छन् भने कैयौँ नयाँ होटल बनेका छन् अनि विद्यमान संरचनामा थप सजावट गरिँदै छ।

सरयू नदीको किनारमा अवस्थित अयोध्या नगरको विकासका लागि सरकारले ३.८५ अर्ब डलर छुट्ट्याएको छ।

अधिकारीहरूले भक्तजन तथा पर्यटकहरूका निम्ति अयोध्यालाई विश्वस्तरीय सहर बनाइँदै गरेको बताएका छन्।

तर कतिपय स्थानीय मानिसले बीबीसीसँग कुरा गर्दै सडक विस्तार गर्न तथा अन्य सुविधा थप्न उनीहरूका घर, पसल तथा ‘धार्मिक प्रकृतिका संरचना’हरू या त पूर्ण या त आंशिक भत्काइएको बताएका छन्।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु