नेपालगन्ज । सरकारले सार्वजनिकस्थलमा सुर्तिजन्य बस्तुको प्रयोगमा रोक लगाएको कानुन बाँकेमा कार्यान्वयन हुनसकेको छैन । सुर्तिजन्य बस्तुको प्रयोग नियन्त्रणका लागि यसअघि पटकपटक प्रयास हुँदै आएको थियो । अभियान सुरु हुने रोकिने गरेको छ ।
सरकारले सार्वजनिकस्थलमा धुम्रपान गर्न नपाउने गरि ऐन ल्याएको हो । ऐनले सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुको प्रयोग गर्नमा रोक लगाउनुको साथै नाबालक र गर्भवति महिलालाई बिक्री बितरण गर्न नपाउने व्यवस्था गरेको छ । त्यस विपरित कार्य गरे एक सयदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
Advertisement
बाँकेमा सुर्तिजन्य वस्तुको बिक्री वितरण अत्याधिक छ । चिया पसलदेखि ठुला किराना पसलमा सुर्तिजन्यबस्तुहरु बिक्री वितरण भइरहेका छन् । भारतीय बजारबाट आयात गरिएका सुतिजन्य बस्तुहरु शहर र गाउँगाउँमा छ्याप्छ्याप्ती छन् । सुर्तिजन्य वस्तुको प्रचारप्रसारका लागि नेपालगन्ज बजारमा होडिङ्गबोर्ड राखिएका छन् ।
सुर्तिजन्य बस्तु नियन्त्रणका लागि नेपालले सन २००३ मा अन्र्तराष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरेको थियो । सन २००७ मा संसदले अनुमोदन गरेको थियो । अनुमोदनका लागि त्यस क्षेत्रमा कार्यरत संघसंस्थाले सरकारलाई दबाब दिंदै आएका थिए । सुतिजन्य बस्तुको प्रयोगबाट नेपालमा बर्षेनि १५ हजारको ज्यान जाने गरेको छ ।









