ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँको नवनिर्मित भवनहरू उद्घाटन

बर्दिया/प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टिकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालय आवास तथा भौतिक शाखाका प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम बहादुर बलायरलाई प्रशंसापत्र प्रदान गर्नुका साथै जिल्ला भरी उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।

Advertisement

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक कडायतले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको उल्लेख गर्दै नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला, उर्जा र मनोवलका साथ व्यावसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ७८ लाख ४१ हजार ७९ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक कडायतले बर्दिया जिल्लास्थित प्रहरी कार्यालयका कार्यालय प्रमुख, तथा प्रहरी अधिकृत एवम् जवानहरूलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यवसायिकता प्रदर्शन गर्न, प्रमाणमुखी अनुसन्धान गर्न, प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउनु पर्ने लगायतका विषयमा निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु