नेपालगन्ज । नेपालगन्जस्थित पुरानो र जीर्ण कारागारमा कैदीबन्दी राख्ने स्थान अभाव भएपछि बाँकेको नौवस्तामा नवनिर्मित नयाँ कारागारमा कैदीबन्दी तयारी सुरु भएको छ ।
नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदी राख्नु पर्ने बाध्यता छ । नौबास्तास्थित कारागार ५० करोडभन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको हो । नौवस्ता कारागारको एउटा खण्डलाई बाल सुधारगृह बनाएर केही समयअघि बाल बिज्याइँकर्तालाई त्यहाँ राखिएको थियो । तर मङ्सिर १५ गते सुधारगृहका ९० जना युवा पाँच मिनेटभित्रै पक्की भवनका छतबाट टिनको छानोमा हामफाल्दै सजिलै भाग्न सफल भएका थिए। तीमध्ये अझै केही भेटिएका छैनन् ।
Advertisement
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सो कारागार भवनका संरचना सुरक्षाका हिसाबले उपयुक्त नदेखिएकाले ती संरचनालाई भत्काएर पुनर्निर्माण गर्नुपर्ने बताए ।
२०७३ साल कात्तिकमा सम्झौता भई २०७९ साल कात्तिकसम्म छ वर्ष लगाएर कैदीबन्दी राख्न बाँकेको नौबस्तामा आठ वटा ब्लकसहितको कारागार निर्माण गरिएको छ। त्यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि दुई वटा छुट्टाछुट्टै भवन र कैदीबन्दी निगरानीका लागि १० वटा सेन्ट्री पोस्ट पनि त्यहाँ निर्माण गरिएका छन् ।









