जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कोहलपुरलाई

 

नेपालगन्ज। १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले हात पारेको छ । योसँगै लगातार तेस्रो पटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक गर्न पनि सफल भएको हो । यसअघि कोहलपुरले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितेसकेको थियो ।

Advertisement

प्रतियोगितामा जिल्लाका सात वटा स्थानीय तहबाट छनोट भएर आएका एक हजार खेलाडीबिच ६ वटा विधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।

कोहलपुरले समग्र ३६ स्वर्ण, नौ रजत र पाँच कास्य पदक जित्दै रनिङ शिल्डको उपाधिमा ह्याट्रीक गर्न सफल भएको हो । यस्तै, दोस्रो भएको राप्तीसोनारी गाउँपालिकाले १३ स्वर्ण, १७ रजत र २० कास्य पदक प्राप्त गर्न सफल भयो ।

तेस्रो स्थानमा रहेको नेपालगन्ज उपमहानगरपालिकाले सात स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्न सफल भयोे । यसैगरी, चौंथो स्थानमा चित्त बुझाएको बैजनाथ गाउँपालिकाले ६ स्वर्ण, १४ रजत र १५ कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा तीन स्वर्ण, पाँच रजत र तीन कास्यसहित पाँचौ स्थानमा खजुरा गाउँपालिका रहयो भने नरैनापुरले एक स्वर्ण र जानकीले दुई रजत मेडलमा चित्त बुझाउनु परेकोछ ।

यसैगरी, उत्कृष्ट खेलाडीतर्फ एथलेटिक्स छात्रतर्फ राप्तीसोनारीका करण नेपाली, उत्कृष्ट छात्रातर्फ नेपालगन्जका आरुषि भट्टराई, भलिबल छात्रतर्फ कोहलपुरका संगम तारामी मगर, भलिबल छात्रातर्फ राप्तीसोनारीकी लक्ष्मी चौधरी सफल हुनुभएको थियो ।

यस्तै, उत्कृष्ट खेलाडी कबड्डी छात्रातर्फ खजुराकी सुषमा बादी र छात्रतर्फ नेपालगन्जका इसरार अलि साई, तेक्वान्दो छात्रातर्फ कोहलपुरकी दिपशिखा रानाभाट, छात्रतर्फ कोहलपुरकै सुर्वण सिग्देल हुन सफल हुनुभयो ।

यसैगरी, उत्कृष्ट खेलाडी कराँते छात्रातर्फ बैजनाथकी वविता विक, छात्रतर्फ कोहलपुरका शुभम बुढा तथा उसु छात्रातर्फ कोहलपुरकी गरिमा चौधरी र छात्रतर्फ कोहलपुरकै टार्जन रोकामगर हुन सफल हुनुभयो ।

सोही प्रकारले मार्चपासमा प्रथम बैजनाथ गाउँपालिका, दोस्रोमा नेपालगन्ज र तेस्रोमा राप्तीसोनारी गाउँपालिका हुन सफल भएको बाँके जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिनुभयो ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु