काठमाडौँ — कोरोना भाइरस संक्रमणको महामारीका कारण लगाइएका प्रतिबन्ध हटेको ९ महिनापछि चीनमा १९ औं एसियाली खेलकुद सुरु हुँदै छ । सहभागी हुने खेलाडीको आकारका रूपमा चीनको पूर्वी सहर हाङझाउमा हुने यसपल्टको एसियाली खेलकुद ओलम्पिकभन्दा पनि ठूलो रहेको छ । आयोजक सहरले दिएको पछिल्लो तथा अन्तिम तथ्यांकअनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीको कुल संख्या छ १२ हजार ४ सय १७ ।
Advertisement
प्रतियोगिता सुरु हुन १० दिन बाँकी रहेको अवसरमा बुधबार विभिन्न कार्यक्रम पनि आयोजना गरियो । दुई वर्षअघिको टोकियो ओलम्पिकमा ११ हजार खेलाडीको सहभागिता थियो । अर्को वर्ष पेरिसमा हुने ओलम्पिकमा १० हजार ५ सय खेलाडीको हाराहारीमा सहभागिता रहनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन सेप्टेम्बर २३ देखि हुनेछ । १६ दिनको लगातार प्रतिस्पर्धापछि अक्टोबर ८ मा टुंगिनेछ ।
उद्घाटनको चार दिनअघि सेप्टेम्बर १९ देखि नै केही खेलका प्रतिस्पर्धा सुरु भइसक्ने छ । कोभिड–१९ महामारीकै कारण एक वर्ष पछाडि सारिएको यसपल्टको प्रतियोगितामा कुल ४ सय ८१ स्पर्धामा खेल हुनेछ । यसपल्ट ९ खेल पेरिस ओलम्पिकको छनोटका रूपमा पनि आयोजना भइरहेको छ । त्यसमध्ये आर्चरी, आर्टिस्टिक पौडी, बक्सिङ, ब्रेकिङ, हक्की, आधुनिक पेन्टाथलन, सेलिङ, टेनिस र वाटरपोलो प्रमुख छन् ।
यसपल्ट एसियाली खेलकुदमा सहभागी हुनेमा विभिन्न खेलका ठूला नाम पनि छन् । विश्व खेलकुदका केही खास खेलमा एसियाली देशकै वर्चस्व र प्रभुत्व रहेको हुनाले कडा प्रतिस्पर्धा हुने निश्चित छ । त्यसमध्ये भारतका नीरज चोपडा र मुताज इसा बरसिम विश्व च्याम्पियन हुन् । नीरज ज्याभलिन थ्रोका विश्व च्याम्पियन हुन् भने कतारी खेलाडी मुताजको नाममा हाइजम्पमा यस्तै उपलब्धि छ ।
चिनियाँ पौडीवाज पान झन्ले र उनको दक्षिण कोरियाली सहकर्मी पनि आ–आफ्नो विधाका विश्व च्याम्पियन हुन् । सबैभन्दा बढी चर्को प्रतिस्पर्धा चल्न सक्ने दुई खेल ब्याडमिन्टन र टेबलटेनिस रहेका छन् । किनभने यसमा शीर्ष वरीयताका अधिकांस खेलाडी एसियाकै छन् । सम्भवतः सबैभन्दा चासो रहने खेल क्रिकेट हुनसक्ने छ, जुन खेल आफैं ओलम्पिकमा भने सामेल छैन ।
पुरुष र महिला दुवैमा भारत र पाकिस्तानको सामना हुन सक्ने सम्भावनाले यस खेलमा रूचि बढेको हो । चीनले आफ्नो भूमिमा हुन लागेको तेस्रो एसियाली खेलकुदका लागि विशाल टिम घोषणा गरिसकेको छ । यसको सदस्य संख्या छ १ हजार ३ सय २९ । त्यसमा ८ सय ८६ खेलाडी छन् । ६ सय ३० खेलाडीले पहिलोपल्ट देशका लागि एसियाली खेलकुदमा भाग लिनेछन् । यी खेलाडीमध्ये १३ वर्षका स्केटबोर्डरका कुई चेन्सीदेखि ब्रिजका ६० वर्षीय ताइ जियनमिङ पनि छन् ।
चीनले हाङझाउ एसियाली खेलकुदमा हुने प्रदर्शनकै आधारमा अबको पेरिस ओलम्पिकमा खेलाडी छनोट हुने भनिसकेको छ । प्रतियोगितमा चीनले नै स्वर्णसहित सबैभन्दा बढी पदक जित्ने विश्वास गरिएको छ । आयोजकले मुख्य मिडिया सेन्टर (एमएमसी) को पनि सफल परीक्षण गरिसकेको छ । यो प्रतियोगिताका हाङझाउमा जम्मा हुने पत्रकारका लागि सबैभन्दा ठूलो कार्यथलो हुनेछ । प्रतियोगिताका लागि सहभागी हुने खेलाडी बराबर नै १२ हजार संख्यामा पत्रकार हाङझाउ पुग्नेछन् ।
नेपालले २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता गराउने छ । बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइङमा १, क्रिकेटमा १५, साइक्लिङमा २, ई–स्पोर्ट्समा २३, फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपड्डीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबलटेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारोत्तोलनमा ५, कुस्तीमा ४ र उसुमा १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।









