निर्वाचन आयोगमा पुग्यो रेशम चौधरी पार्टी अध्यक्ष भएको जानकारी

 

काठमाडौं । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी नियुक्त भएको जानकारी निर्वाचन आयोग पुगेको छ ।

Advertisement

२७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको हो ।

आयोगका अनुसार गत माघ २९ गते नाउपाले निर्वाचन आयोगमा निवेदन दिएको हो । ‘

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ अनुसार राजनीतिक दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्न (लोगो) मा परिवर्तन वा संशोधन गरेको र पदाधिकारीको हेरफेर भएको खण्डमा ३० दिनभित्र निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने हुन्छ । त्यसअनुसार नै नागरिक उन्मुक्ति पार्टीले महाधिवेशनबाट भएको पार्टी पदाधिकारी हेरफेर अनुसार दलको अभिलेख अद्यावधिकका लागि आयोगमा निवेदन दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १४ मा राजनीतिक दलको सदस्य हुने योग्यता सम्बन्धी व्यवस्था छ । जसअनुसार कुनै पनि राजनीतिक दलको सदस्य नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्छ । रेशम चौधरीको हकमा यो व्यवस्था आकर्षित हुने वा नहुनेबारे अब निर्वाचन आयोगले ब्याख्या गर्नेछ ।

पदाधिकारी हेरफेरको सम्बन्धमा आयोगले जाँचबुझ गर्न सक्ने व्यवस्था राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ मा छ । ‘…आयोगले त्यस्तो परिवर्तन, संशोधन वा हेरफेर संविधान, ऐन, यस नियमावली तथा दलको विधान बमोजिम भए नभएको र सो सम्बन्धमा आधिकारिक निर्णय भए नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ’ नियमावलीको नियम २५(२) मा भनिएको छ ।

जाँचबुझ गर्दा परिवर्तन, संशोधन वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने निष्कर्षमा आयोग पुगेको खण्डमा दलको अखिलेख अद्यावधिक हुने छैन । यस्तो अवस्थामा आयोगले अखिलेख अद्यावधिक हुन नसक्ने कारण खुलाई सुधार सहितको विवरण पेश गर्न त्यस्तो दललाई थप सात दिनको समय दिनुपर्ने हुन्छ ।

पुनः प्राप्त विवरणमा आयोग त्यसमा सन्तुष्ट भए अभिलेख अद्यावधिक हुन्छ । आयोग सन्तुष्ट नभए त्यस्तो दलको अभिलेख अद्यावधिक हुँदैन र पदाधिकारी हेरफेर वा अन्य प्रकारको हेरफेर र संशोधनले मान्यता पाउँदैन ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु