नेपालगन्ज । लागुऔषध सेवन र विक्रीविरुद्ध कडा रुपमा उत्रे्को प्रहरीले बाँके र बर्दियाबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुईजना पति–पत्नी रहेको प्रहरीको भनाइ छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगन्ज उपमहानगरपालिका –१३ बाट १ ग्राम ८ मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित नेपालगन्ज उदयपुर बस्ने २० वर्षीय आकाश महरालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले महरालाई सो पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका –११ लोकनगरस्थित चिया पसलका सञ्चालक बाजुरा हिमाली गाउँपालिका –४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाहीलाई सातसय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सो पदार्थसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस्तै, बर्दिया, गुलरीया नगरपालिका –७ महाकबिटोल बस्ने २८ वर्षीय सानु खानलाई सातसय ९० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका –८ जुम्ली टोल बस्ने लोकेन्द्र कडाराको घरबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्नेक्रममा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध र मोबाइलसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गोरखापत्र ।









