नेपालगन्ज, फागुन १६ गते । बाँकेमा गत तीन दिनमा एक लाख चार हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको तीन दिनमा जिल्लामा एक लाख चार हजार ७७३ बालबालिकालाई सो खोप लगाईएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
Advertisement
उहाँले फागुन १३ गतेदेखि सुरु गरिएको खोप अभियान अन्तर्गत बाँकेका आठवटै पालिकाको ८१ वटा वडामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका ४८ हजार ९९२ जना बालिका र ५५ हजार ७८१२ जना बालकलाई खोप लगाइएको बताउनुभयो ।
जिल्लामा खोप अभियान निकै उत्साहजनक रुपमा सञ्चालन भइरहेको जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठले हालसम्म ६३ प्रतिशतभन्दा बढी बालबालिकाले खोप लगाइसकेको बताउनुभयो । उहाँका अनुसार खजुरा गाउँपालिकामा तीन दिनमै लक्ष्यको ९५ प्रतिशतभन्दा बढीले खोप लगाइसकेका छन् भने कोहलपुर नगरपालिकामा ८२ प्रतिशत भन्दा बढीले खोप लगाएका छन्। नेपालगन्ज उपमहानगरमा ४८ प्रतिशतले मात्र खोप लगाएको जनाउँदै सुचना अधिकारी श्रेष्ठले नेपालगन्जमा अझै मिहिनेत गर्नुपर्ने देखिएको बताउनुभयो ।
जिल्लाकै दुर्गम र पिछिडिएको मानिने नरैनापुरमा भने हालसम्म ४० प्रतिशतले मात्र खोप लगाएकोले सो पालिकामा पनि बढी ध्यान दिइने उहाँले जनाउनुभयो । सो अभियान अन्तर्गत नौ महिनादेखि पाँच वर्षमुनिका ४८ हजार ८०१ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइनेछ ।
खोप अभियानका लागि जिल्लाभरि एक हजार २९६ जना स्वास्थ्यकर्मी खटिएका छन् भने एक हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।









