श्री गणेशाय नमः
श्री वेदपुरुषाय नमः
* शिवरात्रि
शिव प्रिया रात्रिः इति शिवरात्रि, ( शं कल्याणी करोतीति शङ्कर ) सबैको कल्याण गर्ने आद्य शक्ति शिवको प्रिय रात्रिलाई शिवरात्रि भनिन्छ। यो तिथि शिवाऽर्चना र रात्रि – जागरणको विशेष महत्त्व भएकाले मोक्ष र कल्याण चाहाने भक्तहरूले रातभर जागरण सहित रात्रिको चार प्रहर अनुसार विधिपुर्वक व्रत गर्ने र पूजा गर्ने विधान शास्त्रमा उल्लेख गरिएको छ ।
साथै विद्या प्राप्त गर्न चाहने विद्यार्थीले पनि देवाधिदेव महादेवको पूजा गर्नुपर्छ भनि शास्त्रमा उल्लेख गरिएको छ।
” विद्या कामस्तु गिरिशम् “
यस पङ्क्तिको तात्पर्य के हो भने विद्या प्राप्त गर्न चाहने व्यक्तिले गिरिश अर्थात् शिवको उपासना, पूजा गर्नुपर्छ भन्ने हो ।
हाम्रो वेदको नेत्र ज्योतिष ( ज्योतिषानयनम् चक्षुः ) शास्त्रमा प्रत्येक तिथिहरुका आ-आफ्ना देवता रहेका छन् । त्यसमा झन् चतुर्दशी तिथिका देवता स्वयं भगवान् देवाधिदेव महादेव हुनुहुन्छ । त्यसैले हरेक महिनाको चतुर्दशीको दिन शिवरात्री आउने कुरा पनि उल्लेख गरिएकाले यो अझ विशेष दिनका रुपमा मनाइन्छ।
यहाँ एउटा जिज्ञासा उठ्न सक्छ चतुर्दशीका देवता शिव भए अरु महिनाका चतुर्दशीमा महाशिवरात्रि मनाए हुन्थ्यो । फाल्गुन कृष्ण चतुर्दशीका दिन नै महाशिवरात्रि किन ? मनाउने भन्ने जिज्ञासा उठ्न सक्छ । यो प्रश्नको जिज्ञासा खोज्न शिवपुराणतिर एकै छिन् पौडिन जाउ ।

एक चोटिको कुरा हो विष्णु र बह्माको विचमा विवाद भएछ को भन्दा को ठुलो भन्ने विषयलाई लिएर ब्रह्माजीले भन्ने म ठुलो हुँ किनकी यो संसारको सृष्टिकर्ता म हुँ । मैले सृष्टि नगरेको भए विष्णुले कसरी पालन गर्दथे र ? । फेरी विष्णु भन्ने म ठुलो हुँ किनकी यो संसारका सम्पुर्ण सृष्टिलाई मैले पालन गर्छु यदि यो सृष्टि मैले पालन नगर्ने हो भने सम्पुर्ण सखाप हुन्थ्यो। यो विवाद दुई जनाबाट कुनै पनि निष्कर्षमा पुग्न सकेन त्यसपछि शिवजी त्यस ठाउँमा अग्नि स्तम्भको रुपमा प्रकट हुनुभयो। त्यो अचम्मको स्तम्भलाई त्यहाँ देखेर त्यस स्तम्भको उचाई र फेद पत्ता लगाउने नै ठुलो हुने निर्णय गरी उचाई र फेद पत्ता लगाउने परीक्षामा दुवैजना जुटे तर विष्णुले उचाई र फेद पत्ता लगाउन सकेनन् ।
बह्माले केतकीलाई झुठो साची राखि उचाई र फेद पत्ता लगाएको कुरा विष्णुलाई सुनाए त्यसपछि विष्णुले सो कुरा सुनेर बह्माजीको आदर साथ पूजा गरे। ब्रह्माजीले केतकी पुष्पलाई झुठो साचि राखेर आफुले झुठो बोलेकाले शिवजी त्यस स्तम्भबाट प्रकट भई ब्रह्माजीको पाचँ शिर मध्ये एक शिर छेदन गर्नु भयो र केतकी पुष्पलाई शिवजीले मेरो पूजामा केतकी पुष्पलाई जुठो मानिनेछ भनी श्राप दिनुभयो । त्यसपछि ब्रह्मा र विष्णु मिलेर त्यस स्तम्भको पूजा गर्नुभयो। त्यसै स्तम्भलाई शिवलिङ्ग भनियो।
आजको दिन महान् छ जो तिमिहरु द्वारा मेरो पूजा भएको छ। त्यसैले तिमीहरुबाट म प्रसन्न छु। त्यसकारण यो दिन परम , पवित्र र महान् छ । आजको यो तिथिलाई शिवरात्रि नामले संसारभर चिनिने छ भनी शिवजीले स्वयम् शिवपुराणमा भन्नु भएकाे छ।
तुष्टोऽहमद्य वान वत्सौ पूजयास्मिन् महादिने ।।
दिनमेतत्तः पुण्यं भविष्यति महत्तरम् ।
शिवरात्रिरित ख्याता तिथिरेषा मम प्रिया ।। ( शिवपुराण )
माता पार्वतीको प्रश्नमा शिवजीले उत्तर दिदै फाल्गुन कृष्णपक्ष चतुर्दशीको रात्रि शिवरात्रिका नामले प्रसिद्ध छ । यस दिन व्रतोपवास गर्ने भक्तहरुले मलाई प्रसन्न पार्छन् भनी शिव पुराणमा शिवजीद्वारा उल्लेख गरिएको छ ।
फाल्गुने कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।। (शिवपुराण)
फाल्गुन कृष्ण चतुर्दशीको रातमा आदिदेव भगवान शिव लाखौं सूर्यको प्रभावमा लिङ्गको रुपमा प्रकट भएकाले यसलाई महाशिवरात्रि मानिन्छ ।
फाल्गुनकृष्णचतुर्दश्यामादिदे वो महानिशि।
शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः ॥
अन्य विभिन्न शास्त्रहरूमा फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथिमा नै शिवरात्रि मनाउने वा व्रतोपवास बस्ने उल्लेख गरिएकाले पनि शिवरात्रि फाल्गुन कृष्णपक्षको दिन मनाइने गरिन्छ।
* शिवपुराण अनुसार शिवरात्रिको महात्म्य
एउटा गाउँ भिल्ल जातिमा बलवान् क्रुरकर्म गर्ने गुरुद्रुह नामको व्याक्ति बस्दथ्यो । ऊ सधै जङ्गलमा जाने सिकार गर्ने सिकारमा लिप्त भएको र चोरी गर्ने गर्थ्यो। उसले बालावस्था देखि नै कुनै पनि शुभ कार्य नै गर्दैनथ्यो । त्यो मनुष्य भएर पनि ज्ञान विनाको पशु नै थियो किनकि ऊ अज्ञानि थियो। एक दिनको कुरा हो , त्यो व्याधा सिकार खेल्न वनमा गयो तर उसले दिउँस भरी सिकार खोज्दा पनि सिकार पाएन। उसले सोच्यो आज घरमा खाने कुरा केहि छैन सिकार नलगि खालि जाउ सबै भोकै बस्नु पर्छ। घर गएर भोकै बस्नु भन्दा सिकार गरेर केहि भोजन लगेर जान्छु भनी रात सम्म त्यहि वनमा बस्ने निधो गर्यो। त्यहाँ एउटा पानीको जलाशय थियो र छेउमा एउटा वृक्ष पनि थियो। त्यो वृक्ष संयोगले वेलपत्रको थियो। यो जलाशयमा जनावर राति जल पिउन आउँछन् त्यसबेला सिकार गर्नुपर्छ भन्ने मनले सम्झि त्यो वृक्षमा चढेर बस्यो।
पहिलो प्रहरमा प्यासले व्याकुल एक मृग जलाशयमा पानी पिउन आइपुग्यो। त्यो देखेर व्याधाले धनुषमा वाण राख्यो त्यसै समयमा उसले पिउनका लागि लिएको जल र बेलपत्र भुइँमा झर्यो संयोगवश त्यो वृक्षको तल शिवलिङ्ग रहेछ। त्यस शिवलिङ्ग मा जल र बेलपत्र पर्यो। त्यो आवाज मृगको कानमा पर्यो र व्याधालाई देखेर मृगले सोध्यो त्यसपछि व्यधाले सबै कुरा बेलिबिस्तार बतायो । त्यो कुरा सुनेर मृग भन्छे मेरो घरमा सबै परिवार छन् । सबैलाई सम्झाएर आउछु भनी व्याधाका भन्छे। शिवलिङ्ग नजानेर चढेको बेलपत्र र जल कारणले केहि पाप नष्ट भई ज्ञान प्राप्त गरेको व्याधाले हुन्छ भनी पठाए। दोस्रो, तेस्रो, चौथो प्रहरहरु पनि यस्तै गरी नै विते। पछि चारै प्रहरका चारै मृगहरु व्याधाका अघि आएर सिकार गर्न भन्छन् । पशु भएर त सबै सम्झाउन सक्छन् म त सर्वश्रेष्ठ प्राणी मनुष्य हुँ । मैले कसो आफ्नो परिवारलाई सम्झाउन नसकुँला र ? भन्ने कुरा नजानेर शिवलिङ्गमा चढेको जल र बाेलपत्रका कारण पाप नष्ट भएर पुण्यका रुपमा मनमा ज्ञान आएको बुझी व्याधा वेलपत्रको वृक्षबाट तल झरी शिवलाई सम्झि शिवरात्रिको दिन भएकाले त्यस शिवलिङ्गलाई पूजा गर्यो ।
यसै शिवरात्रिको दिन ज्ञान नभएको व्याधाले नजानेर गरेको शिव पूजाका कारणले शिवसायुज्य प्राप्त भयो भने हामीले जानेर भक्तिभावले पूजा गरे के मोक्ष प्राप्त गर्न सक्दैनौँ र ? अवश्य पनि शिवसायुज्य अर्थात् मोक्ष प्राप्त गर्दछौ।
दुई शब्दले बनेको शिवको नाम एक चोटि मात्र उच्चारण गर्नाले धेरै पटक गरेका पापहरु नाश भएर जान्छन् भनी शिवपुराण र श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएको छ।
यद् द्व्यक्षरं नाम गिरेरितं नृणां
सकृत्प्रसङ्गादघमाशु हन्ति तत् ।
जो भक्त शिवरात्रिको दिन रात्रिको समयमा रहेका प्रत्येक प्रहर ( ४ प्रहर) मा शिवको विशेष पूजा गर्नुपर्छ भनी शिवपुराणको कोटिरुद्रसंहिताको अष्टत्रिंश ( अ.३८ ) अध्यायको षष्ट्चत्वारिंशत् श्लोकमा उल्लेख गरिएको छ।
यामे यामे यथा पूजा कार्यं भक्तवरैर्हरे ।
शिवरात्रौ विशेषेण तामहं कथयामि ते ।।
साथै यस दिन एक सय आठ चोटि शिव मन्त्र जप्दै शिवजीलाई प्रिय जलधारा शिव लिङ्गमा दिई पूजा गर्नुपर्छ भन्ने कुरा शिवपुराणमा उल्लेख गरिएको छ।
शतमष्टोत्तरं मन्त्रं पवित्वा जलधारया
पूजयेच्च शिवं तत्र निर्गुणं गुणरुपिणम्
शिवार्पणमस्त
Advertisement
खोजकर्ता : ऋषिकेश उपाध्याय गौतम









