नेपालगन्ज नाकाः जोखिमपूर्ण काममा नेपाली युवती

 

नेपालगन्ज। भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतीलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर सीमा कटाई भारतमा जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ ।

Advertisement

यसअघिसम्म मुख्य नाकाबाट नेपाली युवतीलाई सीमा पार गराउने गरिएकोमा मुख्य नाकामा कडाइ गरिएपछि अन्य विभिन्न नाकाबाट यस्तो काम भएको पाइएको हो ।

मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको पूर्वी सीमा क्षेत्रबाट भारत लैजान थालिएकी १८ वर्षीय युवतीको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँके मातहतका निकायले उद्धार गरी तीन जना दलाललाई नियन्त्रणमा लिएको छ । नेपाली र भारतीय दलालको एउटा समूहले ललाइफकाई भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले बागलुङकी १८ वर्षीय एक युवतीको साइड नाकाबाट उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले युवतीलाई उद्धार गरी भारत लैजाने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका प्रमुख एसपी विमल डाँगीका अनुसार पक्राउ पर्ने दलालमा रोल्पाका टुकबहादुर खत्री, भारत श्रावस्ती बस्ने चन्द्रा ओली र सोही ठाउँ बस्ने राम सुरेश रहेका छन् । उनीहरूले मोटरसाइकलमा चढाएर ती युवतीलाई भारत लैजान लागेको अवस्थामा युवतीको उद्धार गरिएको उहाँले बताउनुभयो ।

उद्धार गरिएकी युवतीलाई सेल्टरमा राख्नुका साथै भारत लैजाने कार्यमा संलग्नलाई थप कानुनी कारबाही गर्न प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गणका गणपति एवं एसपी डाँगीले बताउनुभयो ।

उहाँले मानव बेचबिखन जस्ता आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी चनाखो रहेको बताउनुभयो । नेपाल भारत मुख्य नाका जमुनाहमा कडाइ गरेपछि साइड नाकाबाट युवतीलाई भारत छिराउन थालिएको सूचना आएपछि प्रहरीलाई समेत सचेत पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु