बर्दिया/ ईकान्तिपुर—३५ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको काम बजेट अभावमा लक्ष्यभित्र सम्पन्न हुने सम्भावना न्यून हुँदै गएको छ । आर्थिक वर्ष ०८२र८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावमा स्वीकृत गुरुयोजनाअनुसार समयभित्र पूरा नहुने आयोजना कार्यालयले जनाएको छ ।
Advertisement
चालु आर्थिक वर्षमा आयोजनाका लागि ६३ करोड १ लाख बजेट निकासा भएको थियो । त्यसमध्ये हालसम्म ५१ करोडभन्दा बढी रकम खर्च भइसकेको छ । आयोजनाले चालु आर्थिक वर्षका लागि १ अर्ब ५० करोड रकम माग गरे पनि ६३ करोड १ लाख निकासा भएको छ । गत आर्थिक वर्षदेखि मागअनुसार बजेट निकासा नहुँदा नहरको ठेक्का लिएका निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने २५ करोड रुपैयाँ पाएका थिएनन् । चालु आर्थिक वर्षमा निकासा भएको ६३ करोड १ लाखमध्ये २५ करोड मात्रै भुक्तानी दिएपछि आयोजनाको काम प्रभावित भएको छ ।
मागअनुसार बजेट निकासी नहुँदा चालु आर्थिक वर्षमा गर्नुपर्ने काम सक्ने अवस्था नरहेको आयोजना प्रमुख सुशील देवकोटाले बताए । ‘यस्तै अवस्था रह्यो भने ०८२र८३ मा आयोजनाको काम लक्ष्यअनुसार पूरा हुँदैन,’ उनले भने, ‘कर्मचारीको तलब, इन्धनदेखि मर्मतका काम यसै बजेटमा गर्दा नहर निर्माणको काम गर्ने अवस्था न्यून हुँदै गएको छ,’ उनले भने । आर्थिक वर्ष ०७७र७८ मा स्वीकृत गुरुयोजनाअनुसार आयोजनाको कुल लागत १८ अर्ब ९६ करोड ३० लाख ४४ हजार रहेकामा हालसम्म ७२ दशमलव २२ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । हालसम्म १३ अर्ब १४ करोड ९८ लाख ६२ हजार रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । काम गरेको रकम समयमा नपाउँदा निर्माण रोक्नुपर्ने अवस्था आएको निर्माण व्यवसायी संघ बर्दियाका निवर्तमान अध्यक्ष भेषराज पौडेलले बताए । यस्तो अवस्था रह्यो भने लक्ष्यअनुसार काम सम्पन्न नहुने उनको दाबी छ ।
बबई मूल नहरको हेडवर्क्स परेवा ओडारदेखि पश्चिम मूल नहर गुलरिया रत्नापुरसम्म ४२ किमि लम्बाइमध्ये हालसम्म २१ किमि बनेको छ । आर्थिक वर्ष ०८१र८२ सम्म पश्चिमी मूल नहर सम्पन्न गर्न जग्गाधनीलाई मुआब्जा दिने भनिए पनि बजेट अभावमा काम अघि बढ्न सकेको छैन । ०७५ सम्म नहरको काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । नाकाबन्दी, कोभिड महामारी, बाढी र मुआब्जाको समस्याले म्याद थप भई ०८२र८३ सम्म काम सम्पन्न गर्ने लक्ष्य बजेट अभावमा पूरा नहुने देखिएको छ ।
प्रथम चरणमा पूर्वतर्फको २१ हजार हेक्टर र पश्चिमतर्फ १५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य रहेको आयोजनाले जनाएको छ । पर्याप्त सिँचाइका लागि ६० घनमिटर पानीको आवश्यक रहेको आयोजनाले जनाएको छ । भेरी बबई डाइभर्सन निर्माण सकिएपछि १२ महिना पर्याप्त सिँचाइ हुने आयोजनाका कर्मचारी बताउँछन् । धान, गहुँ र तोरी निकै उब्जनी हुने यस भेगमा नहरबाट पर्याप्त पानी नआउँदा किसान आकाशे र पम्पसेटको भरमा खेती गर्न बाध्य भएको बारबर्दिया नगरपालिका–११ का फुलाराम थारूले गुनासो गरे ।
विश्व बैंकको ऋण सहयोग र सरकारले आफ्नै स्रोतबाट ०४५र४६ सालदेखि काम सुरु गरेको आयोजनाको प्रथम चरणमा पूर्वपश्चिम राजमार्गको पडेवा ओडारमा पुलसहितको बाँध निर्माण गरेको थियो । ०५० मा ५ दशमलव ५ मिटर मूल नहर निर्माण गरी बुढीकुलो, राजकुलो र धधवार कुलोमा सिँचाइ पुर्याउँदै आएको छ । त्यसपछि दोस्रो चरणको काम पूरा गर्न कुवेत सरकारसँग आग्रह गरे पनि हुन सकेन । ०५१ सालमा राष्ट्रिय अभियानका रूपमा काम सुरु भएको ३५ किमि लामो पूर्वी मूलनहर ०७६ मा सम्पन्न भएको थियो । पश्चिमतर्फको मूलनहर ०६७र०६८ सालमा सुरु भई काम भइरहेको छ । हालसम्म करिब २१ किमि मूल नहर निर्माण भएको छ ।









