भारतका सुरक्षा अधिकारीद्वारा बाँकेको नेपाल–भारत सीमामा निरन्तर निरीक्षण

 

नेपालगन्ज। भारतको उत्तरप्रदेश राज्यमा वैशाखमा हुने लोकसभाको निर्वाचनका लागि सीमावर्ती भारतीय जिल्लाका सुरक्षा प्रमुखहरुले सीमानाको सुरक्षा अवस्थाबारे विभिन्न नाकामा पुगेर निरन्तर निरीक्षण गरिरहेका छन् ।

Advertisement

निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बाँकेको सीमाना नजिकका भारतीय कस्बा र गाउँहरुमा रहेका विभिन्न मतदान केन्द्रमा पुगेर भारत बहराईचका प्रमुख जिल्ला अधिकारी ९डिएम० र प्रहरी प्रमुख एसपी लगायतको टोलीले स्थलगत निरीक्षण सुरु गरेको छ ।

बाँकेको सीमावर्ती छिमेकी भारतीय जिल्ला बहराईचका डिएम मोनिका रानी र प्रहरी प्रमुख एसपी बृन्दा शुक्लाको नेतृत्वमा रहेको सुरक्षा प्रमुखहरुको टोलीले सीमाना नजिकका मतदान केन्द्रको अवस्था बुझ्नुका साथै दसगजामा पुगेर नाकाको सुरक्षा अवस्था बारे नेपाली सुरक्षाकर्मीहरुसँग पनि जानकारी लिएको छ ।

सीमावर्ती क्षेत्रहरुको निरक्षणका क्रममा भारतीय सुरक्षा अधिकारीहरूले नेपाल तथा भारतीय सीमास्थित सुरक्षाकर्मीहरूसँग सुरक्षा व्यवस्था तथा सुरक्षा गतिविधिका बारेमा सोधपुछ गरेर सल्लाह सुझाव समेत दिनुभएको भारत रुपैडिहाका पत्रकार सन्तोष शुक्लाले बताउनुभयो ।

उहाँले भारतमा नजिकिँदो लोकसभा निर्वाचनलाई मध्यनजर गरेर भारतीय सुरक्षा अधिकारीहरूले सीमानाका विभिन्न क्षेत्रमा पुगेर सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेको बताउनुभयो ।

सो क्रममा डिएम रानी र एसपी शुक्लाले भारतमा लागू भएको निर्वाचन आचारसंहिता पूर्णरूपमा नाकामा पालना गराउन भारतीय सुरक्षा अधिकारीहरूलाई निर्देशन समेत दिनु भएको जनाइएको छ ।

नेपालतर्फबाट अवैध रूपमा मदिरा भित्रिन सक्ने, चुनाव प्रभावित पार्ने गतिविधि हुन सक्ने, अपराधि र असामाजिक तत्वको आवतजावत हुनसक्ने तर्फ सचेत रहन उहाँहरूले भारतीय सुरक्षा अधिकारीहरूलाई कडा निर्देशन दिनुभएको रुपैडिहाका पत्रकार शुक्लाले बताउनुभयो ।

यसअघि गत साता नेपाल भारत नाका नजिक नेपालगन्जमा सम्पन्न भएको नेपाल र भारतका वरिष्ठ सुरक्षा अधिकारीहरुको समन्वय बैठकमा पनि दुबै देशका सुरक्षा अधिकारीले निर्वाचन शान्तिपुर्ण सम्पन्न गर्न विभिन्न निर्णय र सहमति गरेर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका थिए । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु