नेपालगन्ज । नेपालगन्ज २२ बिर्ता निवासी २२ वर्षीय युवक अरबी खाँको शव दश दिनपछि आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् । यही चैत १८ गते राती घाँटी रेटिएको अवस्थामा घर नजिक मृत भेटिएका खाँ को हत्यारा पत्ता नलागेकोले आफन्तले उनको शव बुझ्न मानेका थिएनन् ।
Advertisement
तर प्रहरीले तीव्र गतिमा अनुसन्धान गरेर हत्यारा पत्ता लगाउने प्रतिबद्धता गरेपछि आफन्तले बुधवार खाँको शव बुझेर ईस्लामी परम्परा अनुसार गाउँ नजिकको कब्रस्तानमा अन्तिम संस्कार गरेका हुन् ।
प्रहरीले अनुसन्धानको नाममा परिवारका सदस्यलाई झुक्याइरहेकोले हालसम्म शव नबुझेको मृतक अरबीका काका अब्दुल रहमान खाँले बताउनुभयो । उहाँले प्रहरीले अनुसन्धानलाई तीव्र पारेर छिट्टै हत्यारा पत्ता लगाउने प्रतिबद्धता जनाएपछि दश दिनपछि शव बुझेर अन्तिम संस्कार गरिएको बताउनुभयो ।
यसअघि प्रहरीले अनुसन्धान भइरहेको छ नआत्तिनुस् भनेर आश्वासन मात्रै दिँदै आएको परिवारको गुनासो छ । वास्तविक अपराधी पत्ता लगाउन र निर्दोषलाई नफसाउन परिवारजनले प्रहरीसँग आग्रह गर्दै आएका छन् । वास्तविक अपराधी छिट्टै पक्राउ नगरिए फेरी आन्दोलन गर्ने मृतकका हजुरबुवा पूर्व वडाध्यक्ष रञ्जित खाँले बताउनुभयो । उहाँले आक्रोशित हुँदै भन्नुभयो, ‘नातिको हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दासम्म चुप लागेर बस्नेछेनौँ ।’
जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट हत्याको कुनै सुराक फेला नपरेपछि सिआइबीको टोली मगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । थप अनुसन्धानका लागि सिआइबीको टोली मगाउन परिपत्र गर्न लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो । गोरखापत्र अनलाइन ।









