राँझा (बाँके), चैत २८ गते । बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म दश करोड दश लाख बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिनुभयो ।
Advertisement
उहाँका अनुसार साउनमा एक करोड ४५ लाख, भदौमा एक करोड १९ लाख, असोजमा एक करोड छ लाख, कात्तिकमा एक करोड ४१ लाख, मङ्सिरमा एक करोड ३८ लाख, पुसमा एक करोड एक लाख, माघमा ९१ लाख, फागुनमा ९१ लाख र चैतको हालसम्म ७४ लाख बराबरको अवैध सामान बरामद भएको छ । अवैधरुपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको उहाँको भनाइ छ । नेपालगन्जस्थित जमुनाह नाकासहित बाँकेमा सीमावर्ती ६५ किलोमिटर क्षेत्रमा मानिस सामानसहित ओहोरदोहोर गर्ने ३० नाका पहिचान भएका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।
बाँकेमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गण अन्तर्गत १० वटा बोर्डर आउट पोष्ट (बीओपी) रहेका छन् । दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले सीमा पैदलगस्ती परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिनुभयो । रासस









