धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नै दलका सांसदलाई कारबाही गरी कार्यान्वयनको लागि सिफारिस गरिएको पत्र निष्प्रभावी भएका छ ।
Advertisement
नाउपा अध्यक्ष श्रेष्ठले प्रदेश सरकारका आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाएको पत्र सभामुखलाई प्रेषित गरे पनि प्रभावहीन भएको पाइएको हो । घनश्याम चौधरीको सांसद पद र उनको संसदीय दलको नेताको पद हालसम्म यथावतै रहेको हो ।
अध्यक्ष श्रेष्ठले शुक्रबार मात्रै उनलाई थप कारबाही स्वरूप ३ महिनाको लागि सांसदबाटै निलम्बन गरिएको भनिए पनि उनको पद कायमै रहेको सभामुख भीम बहादुर भण्डारीले जानकारी दिए ।
सभामुख भण्डारीले भने, ‘नाउपा अध्यक्ष श्रेष्ठको पत्र नै स्पष्ट छैन । सांसद पदबाट निलम्बन गरेको हो कि, पार्टीबाट निलम्बन गरेको हो स्पष्ट छैन । अर्को कुरा निलम्बनको कुरा पार्टीसँग जोडिने भएकोले हामीसँग सम्बन्धित छैन । उनीहरुले (नाउपा) कुन प्रायोजनको लागि गर्दैछन् ? उनीहरुलाई नै थाहा होला । हामीलाई जानकारीसम्मको लागि हो, जुन सचिवालयमा दर्ता भएको होला । यसमा हाम्रो निर्णय केही हुँदैन । सांसद पनि घनश्याम नै हुन् । दलको नेता पनि आजसम्म उनै हुन् ।’
नाउपा अध्यक्ष श्रेष्ठले शुक्रबार मात्रै घनश्यामलाई ३ महिनाको लागि निलम्बन गरिएको पत्र सभामुख भण्डारीलाई पठाएकी थिइन् । त्यस्तै, यसअघि चैत्र २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै श्रेष्ठले संसदीय दलको नेताका रूपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकोले हटाइएको पत्र सभामुखलाई प्रेषित गरेकी थिइन् ।
उनले घनश्यामको ठाउँमा कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोक्ने निर्णय समेत गरेकी थिइन् । रातोपाटि ।









