काठमाडौं। नाबालिकालाई वेश्यावृत्रिमा लगाएको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा, झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी सञ्चालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् ।
नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजालाई चावहिल तथा ओम कुमारीलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो । साथै पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ ।
Advertisement
प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाइदिने भनि ओम कुमारीले नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट सञ्चालकद्वारा ललाई फकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको, तत्पश्चात निज नाबालिकालाई काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा लगि काममा लगाएको र उक्त स्पाकी सञ्चालक पुजाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
साथै ओम कुमारीले निज नाबालिकालाई रातिको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गर पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । गोरखापत्र अनलाइन ।









