नेपालगन्ज, वैशाख ७ गते । नेपालगन्ज उपमहानगरपालिकाले मातहतका निजि बिद्यालयका लागि अभिभावकहरुलाई आर्थिक मार पर्ने गरि चर्को शुल्क निर्धारण गरेको छ ।
उपमहानगरपालिकाले क वर्गका विद्यालयले आधारभूत तहमा मासिक अधिकतम ४ हजार ५००, ख वर्गकाले ३ हजार ७५० र ग वर्गका विद्यालयले ३ हजार शुल्क लिन पाउने निर्णय गरेको छ । त्यस्तै माध्यमिक तह तर्फ क वर्गका विद्यालयले मासिक अधिकतम ५ हजार ५००, ख वर्गका विद्यालयले ४ हजार ६०० र ग वर्गका विद्यालयले ३ हजार ७५० शुल्क लिन पाउने निर्णय गरिएको छ ।
Advertisement
गोरखापत्र अनलाइनका अनुसार उपमहानगर अन्तर्गतको उपमहानगर शिक्षा समितिले संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०८० अनुसार संस्थागत विद्यालयको वर्गीकरण गरेर शुल्क समेत निर्धारण गरेको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताए।
शिक्षा महाशाखाका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ८१ वटा विद्यालय छन् । जसमध्ये प्रक्रिया पूरा नगरेका केही विद्यालयको मापदण्ड मूल्याङ्कन रोकिएको छ, उनीहरूले ५ हजार जरिवाना तिरेर फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ । शिक्षा महाशाखाले वर्गीकरणका लागि स्वमूल्याङ्कन फाराम नभर्ने विद्यालय १४ वटा रहेको पनि जनाएको छ ।
शिक्षा समितिका अनुसार, क वर्गमा १३ वटा विद्यालय परेका छन् । एन्जलस मावि, गोल्डेन एबिसी एकेडेमी, होलिल्याण्ड मावि, स्प्रिङ्ग डेल एकेडेमी, सेन्ट थोमस ई.मि. स्कुल, यूनाइटेड एजुकेसन एकेडेमी, जय बागेश्वरी मावि, माेर्डन पब्लिक मावि, आदर्श मावि, नेपालगन्ज मोडेल एकेडेमी, सोफिया रेजिडेन्सियल इंगलिस स्कुल, होप इन्टरनेशनल स्कुल र ज्ञानोदय विद्या निकेतनलाई उपमहानगरपालिकाको शिक्षा महाशाखाले क वर्गमा सूचिकृत गरेको छ ।
उपमहानगरले विद्यालयको शुल्क निर्धारण गरेकोमा खुसी व्यक्त गर्दै नेपालगन्ज ११ का अभिभावक मुबारक सिद्धिकीले मासिक शुल्क बाहेक परीक्षा र अन्य विभिन्न नाममा लिइने गरेका शुल्कको निर्धारण पनि उपमहानगरपालिकाले गर्नुपर्ने माग गर्नु भएको छ । उहाँले संस्थागत विद्यालयले विभिन्न नाममा मनपरी तरिकाले विभिन्न शुल्क लिने गरेको गुनासो गर्नुभयो ।









