निसिमुरा पुच्छ्रेतारा मंगलबार बिहान उत्तरी गोलार्द्धबाट देखिने

 

काठमाडौँ — खगोलीय घटनामा चाख राख्नेका लागि एउटा उत्साहित गर्ने समाचार सार्वजनिक भएको छ । मंगलबार बिहान निसिमुरा पुच्छ्रेतारा पृथ्वी नजिकैबाट पार हुँदैछ । यसको गति प्रतिघण्टा ३ लाख ८६ हजार किलोमिटर हुने बताइएको छ ।

Advertisement

 

निसिमुरा पुच्छ्रेतार पृथ्वीको निकट चार शताब्दीपछि आउन लागेको हो । यसले एक पटक सूर्यको परिक्रममा गर्न करिब ४ सय ३५ वर्ष लगाउँछ । यसअघि पृथ्वी नजिकै आउँदा सन् १५८८ मा नेपालमा मल्ल वंशको शासन थियो । जतिबेला शिवसिंह मल्ल तत्कालीन कान्तिपुरका राजा थिए ।

 

जापानी फोटोग्राफर हिडेओ निसिमुराले अगस्ट ११ का दिन पहिलो पटक यो पुच्छ्रेतारा पत्ता लगाएका थिए । उनको डिजिटल क्यामेराले खिचेको फोटो विश्वभरका खगोलशास्त्रीहरुको टेलिग्राम एकाउन्टमा राखेपछि अन्यले थाहा पाएका हुन् । उनकै नामबाट यो पुच्छ्रेताराको नाम राखिएको थियो । यसअघि पनि उनले दुईवटा पुच्छ्रेतारा भेटेका थिए ।

विज्ञहरूका अनुसार पुच्छ्रेतारा बरफ र धुलोबाट बन्ने गरेको छ । जुन सूर्यको नजिकबाट गुज्रँदा बरफ र धुलो पग्लिन थाल्छ र ठोसबाट ग्याँसमा परिणात हुन्छ । त्यसले आकर्षक उज्यालो पुच्छर बनाउँछ ।

उत्तरी गोलार्द्धका मानिसले उक्त पुच्छ्रेतारा मंगलबार घाम उदाउनुभन्दा ९० मिनेट अघिदेखि देख्न सक्ने खगोलशास्त्रीहरुले बताएका छन् । यसलाई खुला आँखाले देख्नसक्ने भए पनि बाइनाकुलर वा टेलिस्कोपबाट हेर्दा राम्रो देख्न सकिने उनीहरू बताउँछन् ।

 

तर फोटोमा देखिए जस्तो आकर्षक पुच्छ्रेतारा आकाशमा खोजियो भने सामान्यत: नदेखिने खगोलशास्त्रीहरू बताउँछन् । एस्ट्रो फोटोग्राफरहरुले विभिन्न उपकरणको प्रयोग गरेर खिच्ने हुँदा त्यसको आकर्षक फोटो देखिने बताइन्छ ।

साथै प्रकाश प्रदूषण कम भएको र अग्लो स्थानबाट यसलाई देख्न सकिने उनीहरुले बताएका छन् । तर काठमाडौंसहित नेपालका विभिन्न स्थानबाट हेर्नका लागि मौसम त्यति अनुकुल नहुने विज्ञहरू बताउँछन् ।

ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु