जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउँदा युवकको हत्या,११ जना पक्राउ

 

दाङ/ सल्यानमा कुटपिट गरी एक युवकको हत्या भएको छ। घटनामा संलग्न आरोपितमध्ये ११ जना पक्राउ परेका छन्।

Advertisement

जिल्लाको कुमाख गाउँपालिका– ६ का २१ वर्षीय विकास वलीको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख (डिएसपी) नवीन कार्कीका अनुसार गत मंगलबार राति सामान्य विवादको विषयमा भलिबल खेलेर आएका ११ जना जना युवाले आक्रमण गरेका थिए। उनीहरू छिमेकी गाउँका रहेको खुलेको छ।

ती युवाले वलीमाथि दाउराको चिर्पट लगायतले आक्रमण गरेका थिए। कुटपिटबाट घाइते वलीलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी कार्कीले बताए ।

घटनाको दिन मृतक वलीका ठूलो बुवाको छोरीको बिहे थियो। डिएसपी कार्कीका अनुसार जन्ती दुलही लिएर फर्किइसकेपछि आइपुगेका ती युवाले बिहे ३रमा उच्छृङ्खल गतिविधि गर्न थालेका थिए।
नाचगान गर्न भन्दै आएका युवाले बिहेका लागि सजाइएको मण्डप भत्काउनुका साथै आँगनमा टाँगेको ध्वजापताका पनि च्यातचुत पारेका थिए।

त्यसो नगर्न र सभ्य तरिकाले नाचगान गर्न भन्दै सम्झाएर युवालाई फर्काएका थिए। वलीले ती युवालाई सम्झाउँदै आफू पनि पर पुगेका थिए। करिब २० मिनेट जति हिँडेपछि जंगलको बीचमा वलीमाथि चिर्पट प्रहार भएको खुलेको प्रहरीले बताएको छ।

चिर्पट लागेर ढलेका वलीलाई समूहका अन्य युवाले पनि कुटपिट गरेर गम्भीर घाइते बनाएको अनुसन्धानबाट खुलेको डिएसपी कार्कीले बताए।

बिहीबार नै पक्राउ परेका ११ जनालाई म्याद थपका लागि अदालत पठाउन लागिएको डिएपसी कार्कीले जानकारी दिए।
पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

‘आज म्याद थप भइ आएपछि अनुसन्धान सुरू गर्नेछौं,’ डिएसपी कार्कीले भने, ‘पक्राउ परेका ११ जना मध्य घटनामा कोको संलग्न छन् अनुसन्धानपछि मात्रै थाहा हुन्छ।’ सेतोपाटी ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु