बाँकेको नरैनापुरमा औलोको प्रकोप

 

नेपालगन्ज, वैशाख १४ गते । बाँकेको दुर्गम र पिछिडिएको नरैनापुर गाउँपालिकामा औलो रोगको सङ्क्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जना औलोका नयाँ बिरामी भेटिएपछि गाउँपालिकाले सो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।

Advertisement

गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार गत आर्थिक वर्ष २०७९।०८० मा सो पालिकामा १०२ जनामा औलो रोग पुष्टि भएको थियो भने चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पालिकाको एउटै वडामा १०१ जना औलोका बिरामी भेटिएका छन् । उहाँले वडा नम्बर ३ मा मात्र १०१ जना बिरामी भेटिएकोले गाउँपालिकाले उच्च सतर्कता अपनाउँदै औलोको सक्रमण नियन्त्रणका लागि विभिन्न कार्यहरु गरिरहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले नरैनापुरको वडा नम्बर ३ मा केही महिना पहिलेदेखिनै औलोका बिरामी थपिँदै गएको पाइएकोले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले पालिकाको सबै भन्दा उच्च जोखिममा रहेको वडा नम्बर तीनमा नियन्त्रणका लागि चार हजार ३०० जनालाई कीटनाशक झुल वितरण गरिएको बताउनुभयो ।

रोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा कीटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरीले बताउनुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पालिकाका केही वडामा औलो रोग भेटिए लगत्तै स्वास्थ्यकर्मी परिचालन गरी व्यवस्थापन गरिरहेको जनाउँदै उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाएर नियन्त्रणको काम भइरहेको बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८०-०८१ को साउनदेखि माघसम्म नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र राप्तीसोनारी गाउँपालिकामा पाँच÷पाँच जना र बैजनाथ गाउँपालिकामा एक जना औलोका बिरामी भेटिएको स्वास्थय कार्यालयका फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी नभेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु