बाँके: नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

 

खजुरा, वैशाख १४ गते । भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।

Advertisement

भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

भारतीय सीमावर्ती जिल्ला श्रावस्तीका डिष्ट्रिक मजिष्ट्रेट कृतिका शर्माको निमन्त्रणमा बाँके र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखहरूको एक दिने समकक्षी समन्वय बैठक बिहीबार सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

श्रावस्ती जिल्लामा मे २५ तारिखका दिन हुन गइरहेको लोक सभा निर्वाचनमा दुवै देशका सिमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने बैठकको मुख्य एजेन्डा रहेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई देशका सिमा क्षेत्रमा हुनसक्ने अवैध हातहतियार ओसारपसार, लागू औषध ओसारपसार, मानव तस्करी तथा सिमा क्षेत्रमा हुनसक्ने अन्य अपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबिच छलफल भएको थियो ।

बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले सिम क्षेत्रमा संयुक्त निगरानी गर्ने, चेक प्वाइन्ट स्थापना गर्ने, संयुक्त गस्ती पेट्रोलिङ गर्ने र दुवै देशका सुरक्षा अधिकारीबिच सोझो सम्पर्क स्थापित गर्न सक्ने संयन्त्रको विकास गर्ने सहमति भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

उक्त जिल्लामा निर्वाचन हुने २५ मेका दिनमा सीमावर्ती जिल्लाका सीमा नाकाहरूमा चेकजाँच कडाइ गर्ने, निर्वाचन हुनु ७२ घण्टा अगाडीबाट दुवै देशका सिमानाका बन्द गर्ने, मतदानको दिन सीमावर्ती क्षेत्रमा मदिराको बिक्री वितरण तथा उपभोगमा रोक लगाउने लगायतका विषयहरूमा छलफल गरी कार्यान्वयन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

सिमानाका बन्दको समयमा अत्यावश्यक सेवाका दमकल, सब वाहन, एम्बुलेन्सलगायतका सवारी साधन भने नरोकिने प्रजिअ पोखरेलले बताउनुभयो । गोरखापत्र अनलाईन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु