१८ वैशाख, धनगढी । धनगढीमा प्रहरीले ४० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डवयर एन्ड सप्लायर्सको गोदाममा प्रहरीले छापा हानेर सामान बरामद गरेको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्तालाई स्रोत नखुलेको सामानसहित पक्राउ गरिएको जानकारी दिए ।
Advertisement
उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समुहको टोलीले भारतिय नम्बर युपी ३१ टी ७७११ नम्बरको ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याएका हार्डवेयरका सामान, ट्रकसहित गुप्तालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रबहादुर चन्द नेतृत्वमा खटिएको टोलीले गोदाममा छापा हानेको थियो । प्रहरीले गोदामबाट बरामद गरिएका हार्डवयर र ट्रकको समेत मूल्यांकन गर्दा ४० लाख ४ हजार रुपैयाँ भएको जनाएको छ । अनलाईन खबर ।
बरामद गरिएको ट्रक, सामान र गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको छ ।









