उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ।
जसपा नेता अशोक राईको नेतृत्वमा जसपा नेपालका ७ सांसदले नयाँ दल जनता समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आइतबार निवेदन दिएका छन्।
Advertisement
नयाँ पार्टीमा महासचिवको जिम्मेवारी मोहम्मद इस्तियाक राईलाई दिइएको नेता राजेन्द्र श्रेष्ठले बताए।
जसपा विभाजनको कारण र अहिलेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन रहने वा नरहनेलगायत विषयमा महासचिव राईसँग सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंश:
उपेन्द्र यादव नेतृत्वको पार्टी तपाईंहरुले किन विभाजन गर्नुभएको हो?
उपेन्द्र यादवको हैकमवादी प्रवृति नै प्रमुख कारण रह्यो। महन्थ ठाकुर, विजयकुमार गच्छदारदेखि जेपी गुप्ता र अशोक राईसम्म शीर्ष नेताहरुको उहाँले सम्मान गर्नुभएन। सबैलाई पाखा लगाउँदै जाने प्रवृत्ति देखियो। विधि, विधान र प्रक्रियाका कुरा गरेपछि पार्टीबाट विस्थापित गर्ने काम गर्नुभयो।
१६ वर्षपछि महाधिवेशन गर्न खोज्ने तर अवैधानिक प्रक्रियाबाट मधेस प्रदेशका अध्यक्ष हटाइदिने र विभिन्न जिल्ला अध्यक्ष हटाउनुभयो र आफू अनुकूल महाधिवेशन प्रतिनिधि बनाउन संगठित सदस्यता वितरण गर्ने लगायतका काम गर्नुभयो।
विधि विधानसम्मत गर्नुपर्छ भन्दा उहाँले मान्नु भएन। अहिले फेरि अस्थिरता तर्फ जाने देखियो। महिनापिच्छे सरकार परिवर्तनका लागि लाग्ने, महिनापिच्छै भत्काउने भयो। महिनापिच्छे मुख्यमन्त्री परिवर्तन हुने सरकार परिवर्तन हुने भयो। एउटा स्थिर सरकार र लोकतान्त्रिक र सामूहिक निर्णयवाला पार्टी निर्माणका लागि अहिले तराई मधेस पहाड, हिमाल सबै मिलेर लोकतान्त्रिक विधि र पद्दतीअनुसार पार्टी आवश्यक भएकाले बाध्य भएर कदम उठाउनु परेको हो।
तपाईंहरूको नयाँ पार्टीले संघीय सरकारमा प्रचण्डलाई नै समर्थन गर्छ?
हालको विद्यमान सरकारलाई अगाडि बढाउने हो। हामीहरुको ध्येय नै अहिलेको सरकार अघि जानुपर्छ भन्ने हो। महिनापिच्छे सरकार परिवर्तन हुनुपर्छ भन्नेमा हामी छैनौं।
कतिपयले तपाईंहरुले पार्टी फुटाएर नेकपा (एमाले) मा मिलाउन लागेको हल्ला गरेका छन्, के हो?
मिल्ने थियो भने मिल्ने कानुन नै थियो नि! किन फरक पार्टी खडा गर्ने निवेदन दिन्थ्यौँ र?
एमालेसँग मिसाउन लागेको होइन?
मिसाउन लागेको भए सोझै निवेदन दिने थियौँ नि! वर्तमान कानुनले पार्टी मिलाउन मिल्ने व्यवस्था गरेकै छ।
तपाईंहरुको नयाँ पार्टीमा केन्द्रीय समिति र संसदीय दलको बहुमत छ?
केन्द्रीय कार्यकारिणीको ८ जना छौं। केन्द्रीय सदस्य आधा भन्दा धेरै छौं। प्रतिनिधि सभा सांसद ७ जना छौं। राजनीतिक दलसम्बन्धी ऐनका केही धारा निष्क्रिय भयो। हामी राजनीतिक दलसम्बन्धी ऐनको नियमावलीअनुसार आयोग आयौं। पछिल्लो अध्यादेशको नियमावली जिवीत छ। त्योअनुसार दल विभाजनको निवेदन दिएका छौँ।
नयाँ दलमा कति पदाधिकारी रहन्छन्?
१५ जना पदाधिकारी राख्ने निर्णय भएको छ। संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, पार्टी अध्यक्ष अशोक राई हुनुहुन्छ। म महासचिव भएको छु।








