खजुरा, वैशाख २६ गते । बाँकेमा कृषि अनुदानका लागि जिल्लाका करिब नौ सय बढी किसानले आवेदन (प्रस्तावना) दर्ता गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्ज कार्यालयमा नौ सय बढी आवेदन दर्ता भएको ज्ञान केन्द्रले जनाएको छ ।
Advertisement
कृषि ज्ञान केन्द्र नेपालगन्जका सूचना अधिकारी कृषि अर्थ विज्ञ जीवनकुमार केसीले कार्यालयले आह्वान गरेको सूचनाका आधारमा कृषि अनुदान प्राप्तिका लागि जिल्लाभरका नौ सय बढी किसानले प्रस्तावना दर्ता गरेको बताउनुभयो । नौ सय बढी आवेदनमध्ये करिब एक सय ५० वटा किसानका फर्म तथा समूह, सहकारीलाई यसवर्ष कृषि अनुदानका छनौट गरिएको उहाँले बताउनुभयो ।
“कार्यालयले सिचाइ प्रयोजनका लागि कृषि अनुदानको सूचना जारी गर्याे, नौ सय बढी किसानका फर्म, समुह तथा कृषि सहकारीका आवेदन दर्ता भए, बजेट रकम सिमित थियो, एक करोड ५० लाख रुपियाँको रकमले कसरी सबैलाई पुर्याउने ?” सूचना अधिकारी केसीले भन्नुभयो, “मापदण्ड र कार्यविधिअनुसार छाँट्दै लग्यौं, फिल्ड भेरिफिकेशन गर्याैं, अन्तमा करिब एक सय ५० वटा आवेदनलाई छनौट गर्याैं ।”
सिँचाइ कार्यक्रम अन्तर्गत यस वर्ष एक करोड ५० लाख रुपियाँ बजेट रहेको र छनौट भएका किसान, फर्म, समूह तथा सहकारीहरुलाई मापदण्डका आधारमा प्राथमिकता अनुसार ५० हजारदेखि एक लाख ५० हजार रुपियाँसम्मको सहयोग प्रदान गरिने सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।
फिल्डमै गएर अन्य कुनै संघ संस्थाबाट दोहोरो अनुदान लिएका छन् कि छैनन्, मापदण्ड अनुसार जग्गा छ कि छैन लगायतका विषयहरुमा अनुसन्धान गरेर प्रस्तावना छनौट गरिएको उहाँको भनाइ छ । एउटा व्यक्तिलाई वोरिङ मात्र गाड्नका लागि बढीमा ५० हजार रुपियाँ र कृषि समुह तथा सहकारीहरुलाई बढीमा एक लाख ५० हजार रुपियाँसम्मको सहयोग गरिने केसीले बताउनुभयो ।
किसानका फर्म, समूह तथा सहकारीहरुलाई सिँचाइका लागि वोरिङ, पाइप, मोटर लगायतका आवश्यक यन्त्रहरु खरिदका लागि मात्र उक्त अनुदान प्रदान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार किसानले सिँचाइका लागि आवश्यक यन्त्र खरिद गरिसकेपछि बिल पेश गरेपश्चात बल्ल अनुदानको रकम प्रदान गरिने कार्यालयले जनाएको छ ।
अन्न उत्पादनका निम्ति उर्वरभूमि बाँकेमा सिँचाइ अभावले धान, गहुँ लगायतका खेतीका लागि धेरै ठाउँमा अझैपनि आकासे पानीमा निर्भर हुनुपर्ने भएकाले सिँचाइका लागि ठूलो सङ्ख्यामा किसानको आवेदन परेको हो । सरकारले कृषिप्रति आकर्षण बढाउन तथा उत्पादन वृद्धिको उद्देश्यले किसानलाई अनुदान दिँदै आएको छ । गोरखापत्र अनलाइन









