Advertisement
खजुरा, जेठ २ गते । जानकी गाउँपालिका वडा नं. ३ इन्द्रपुर बाँकेकी ३१ बर्षीया सविता राजवंशीको श्रीमान् सन्तोष कठरियालाई गत फागुन २३ गते राती एक लुटेराको समूह घरमा पसेर लुटपाटसमेत गरी आक्रमण गरेर हत्या गरे ।
सविताको श्रीमान् सन्तोषलाई लुटेराको समूहले हत्या गरेको पनि दुई महिना बढी समय बितिसक्यो । तर हत्यारा भने अझैसम्म पनि पत्ता लाग्न सकेका छैनन् । सविता भन्नुहुन्छ, “यतिका समयसम्म पनि श्रीमानको हत्यारा पत्ता नलाग्दा डरै डर र त्रासै त्रासमा बाँचेकी छु ।”
६ जना भन्दा बढीको लुटेराको समूहले राती साढे एघार बजेतिरको समयमा घरको ढोका फोडी भित्र पसेर पहिला सविताको कानमा लगाएको सुनको जुली र नाकमा लगाएको फुली लगे । त्यसपछि दराजको चाबी मागेर दराज खोली दराजमा भएको ७३ हजार रुपियाँ नगद समेत लगेपछि सन्तोष र सवितालाई काठले आक्रमण गरे ।
पेस्तोलसहित आएका लुटेराको समूहले काठले टाउकोमा प्रहार गरेपछि आफू एकातिर पल्टिएको र काठकै प्रहारबाट गम्भीर घाइते हुनुभएका सन्तोषलाई स्थानीय र प्रहरीको सहयोगमा राती नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्याइयो तर सन्तोषको साढे एक बजेतिर उपचारका क्रममा निधन भएको सविताले बताउनुभयो । उनीहरूसँग आफूले पेस्तोल देखे पनि पेस्तोल भने प्रयोग नगरेको उहाँको भनाइ छ ।
सविताले गत चैत ५ गते शान्ति सुरक्षा कायम गरिपाउँ भनेर जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन पेस गरेको बताउनुहुन्छ । “मैले श्रीमानको हत्यापश्चात चैत ५ गते शान्ति सुरक्षा कायम गरिपाउँ भनेर जिल्ला प्रहरीमा निवेदन पेश गरेँ, अहिले कहिलेकाहीँ बिहान र साँझको समयमा प्रहरीहरू मेरो घरतिर गस्तीमा जाने गर्नुभएको सुनेकी छु ।”
सविताले लुटेराले श्रीमानको हत्या गरेपछि त्यो घरमा आफू जान नसकेको बताउनुभयो । घटना भएको केही दिनपछि फेरी त्यही घरमा अर्को चोरीको घटना भएको र त्यसपछि त झनै जान डर लाग्ने गरेको उहाँको भनाइ छ ।
“श्रीमानको हत्यापछि डरका कारण म त्यहाँ जान सकिन, बाहिरै डेरा लिएर बसेँ, जान त मन लाग्छ तर डर लाग्छ, त्यहाँ सुरक्षित महसुस हुँदैन ।” उहाँले भन्नुभयो, “घटना भएको केही दिन पछि म एक दिन घर पुगेँ, घर पुग्दा घरको ढोका फोडेर भित्र रहेको चामल, चिनी, तेल, जाडोमा लगाउने कपडासहित सबै सामान चोरले लगेछ, त्यसपछि त झनै त्यहाँ जानै डर लागेर आउँछ ।”
अहिले आफू नेपालगन्जमा छोरासहित डेरा गरेर बसिरहेको उहाँले बताउनुभयो । “अहिले नेपालगन्जमा डेरा खोजेर बसेकी छु, नयाँ कोही मान्छे हिँडडुल गरेको देख्यो भने डर लाग्छ, काखमा रहेको दुधेबालकलाई मार्ने हुन की, मलाई मार्ने हुन की भनेर मन झसङ्ग झसङ्ग हुन्छ ।” उहाँले भन्नुभयो, “श्रीमानको हत्यारा अझैसम्म पनि पक्राउ नपर्दा अझै ढुक्क हुन सकेकी छैन, उनीहरू फेरी आएर हामीलाई मार्ने हुन की भनेर सधैँ त्रास र डर लाग्छ ।”
सविताको काखमा अहिले दुई वर्षीय एउटा छोरा छन् । नोकरी पेसा व्यवसाय केही पनि छैन । अब दैनिकी कसरी गुजारा गर्ने भनेर उहाँले गुनासो गर्नुभयो । “श्रीमानले पहिला जसोतसो गरेर जागिर गरेर हाम्रो दैनिक गुजारा चलाइरहनुभएको थियो, कमाएर घर ल्याई खुवाउने मान्छे नभएपछि अब कसरी जीवन चलाउने ?” उहाँले भन्नुभयो, “यो दुधेबालकलाई कसरी खुवाउने, ठुलो हुँदै छ कसरी पढाउने, मैले के गरी खाने, केही पेसा जागिर छैन, कमाउने मान्छे नै नभएपछि कसरी जीवन बाँच्ने ।”
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले घटनाका बारेमा सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “उक्त समयमा सोही क्षेत्रमा लगातार एउटै प्रकृतिका केही घटनाहरू भए, जानकी ४ मा गत चैत २६ गते राती बन्दुक देखाएर भएको लुटपाटको घटनामा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरिसकेका छौँ ।” उहाँले भन्नुभयो ।
“उस्तै उस्तै प्रकृतिको घटना भएका कारण यस घटनामा उनीहरूको संलग्नताका बारेमा सूक्ष्म अनुसन्धानमै छौँ, केही दिनमा अपराधी पत्ता लगाउँछौ, अपराधीलाई कानुनी दायरामा ल्याउने गरी हामी लागिरहेका छौँ ।” प्रनाउ डाँगीले भन्नुभयो । गोरखपत्र अनलाईन ।









