नेपालगन्ज, जेठ ३ गते । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको निकुञ्जले जनाएको छ ।
बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाने तथा त्यसपछि वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेकोमा सो समस्या समाधान गर्न हालसम्म निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताउनुभयो ।
Advertisement
उहाँले चालु आर्थिक वर्षभन्दा पहिले निकुञ्जभित्र ८० वटा पोखरी निर्माण भएको जनाउँदै चालु आर्थिक वर्षमा तीन वटा बोरिङसहितको पोखरी निर्माण गरिएको र तीन ठाउँमा बोरिङ मात्रै गरेर खाल्डोमा पानीको व्यवस्था गरिएको बताउनुभयो ।
वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा गर्मीको बेला पानीको खोजीमा जनावर भौँतारिने गरेकाले कृत्रिम पोखरी निर्माण गरिएको जनाइएको छ । निकुञ्जमा रहेका जलाशयमा अत्यधिक गर्मीका बेला पानीको सतह घटेपछि कृत्रिम पोखरी निर्माण गरी बोरिङ गाडेर पानीको व्यवस्थापन गरिँदै आएको वरिष्ठ संरक्षण अधिकृत साहले जनाउनुभयो ।
साहका अनुसार निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत निकुञ्जमा पाइने चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा, बाँदर र हात्तीसहितका वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन् । त्यसरी पानीको खोजीमा हिँडेका जङ्गली जनावर मध्यवर्ती क्षेत्रका बस्ती र पूर्वपश्चिम राजमार्गसम्म पुग्दा दुर्घटनालगायत मानव वन्यजन्तु द्वन्द्वसमेत हुने गरेकाले खानेपानीका लागि वन्यजन्तुलाई टाढा जानु नपरोस् भनेर कृत्रिम पोखरी बनाउने काम हुँदै आएको निकुञ्जले जनाएको छ ।
सो निकुञ्जभित्र विभिन्न ठाउँमा कृत्रिम पोखरी निर्माण गरेर सौर्य ऊर्जामार्फत मोटर सञ्चालन गरेर वन्यजन्तुका लागि खानेपानीको व्यवस्था मिलाइएको छ । गोरखापत्र अनलाइन ।









