काठमाडौँ /ईकान्तिपुर — पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको भाउ निरन्तर कमजोर बन्दै गएको छ । सोही क्रममा मंगलबार र बुधबार एक अमेरिकी डलरको विनिमय दर १ सय ३३.५४ रुपैयाँ (बिक्री दर) पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार र बुधबारका लागि तोकेको अमेरिकी डलरको खरिद दर १ सय ३२.९४ रुपैयाँ छ । यो हालसम्मकै उच्च हो ।
Advertisement
केही महिनाअघिसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ गत साउन दोस्रो सातातिर बढ्न सुरु गरेको थियो । सोही क्रममा गत भदौ १ मा डलरको भाउ बढेर १ सय ३३.३४ रुपैयाँ पुगेको थियो । त्यसपछिका दुई साता डलरको भाउ १ सय ३३ रुपैयाँ वरिपरि नै थियो । तर भदौ २२ पछि डलरको भाउ निरन्तर बढ्न थालेको हो ।
पछिल्ला दिनमा विश्व बजारमा डलरको माग बढेपछि भाउ पनि निरन्तर वृद्धि हुन थालेको हो । खासगरी अमेरिकाको फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताले डलरको माग बढाउँदा मजबुत बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै रोयटर्सले मंगलबार डलरको भाउ पछिल्लो ६ महिनायताकै उच्च बिन्दुमा पुगेको बताएको छ । २०२३ अगस्टमा अमेरिकी अर्थतन्त्रका सूचक अनुमान गरिएभन्दा बढी बलिया भएका छन् । सोही अवधिमा खुद्रा व्यापार अनुमान गरिएभन्दा धेरैले बढेको छ भने बेरोजगारी अनुमान गरिएभन्दा कम छ । ब्याजदर बढ्दा विश्वका लगानीकर्ता अमेरिकामा लगानीका लागि आकर्षित हुन्छन्, यसले स्वतः डलरको माग बढ्छ । त्यसै पनि अहिले फेडले तोकेको सन्दर्भ ब्याजदर २२ वर्षयताकै उच्च हो । हाल फेडको सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत छ ।
नेपालमा यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र ०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो । यस्तै ०८० असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.० प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको थियो । अन्तर्राष्ट्रिय बजारमा ०७९ साउन मसान्तमा प्रतिब्यारल अमेरिकी डलर ९५.३६ रहेको कच्चा पेट्रोलियमको मूल्य गत साउन मसान्तमा १०.६ प्रतिशतले कमी आई अमेरिकी डलर ८५.२४ कायम भएको छ । ०७९ साउन मसान्तमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य अमेरिकी डलर १ हजार ७ सय ७४.८५ रहेकामा ०८० साउन मसान्तमा ६.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ हजार ८ सय ९६.३५ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकार बताउँछन् । पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । मंगलबार साँझसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८३.२९ छ । पछिल्ला महिनामा भारतीय अर्थतन्त्र अपेक्षित रूपमा सुधार हुन सकेको छैन । यही कारण अमेरिकी डलरको तुलनामा भारु कमजोर बन्दै गएको हो । त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।
डलर बलियो बन्दा नेपाललाई हानि मात्र हुँदैन, लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् ।
डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले पर्यटक बढ्ने क्रममा रहेकाले डलरको भाउ वृद्धिबाट नेपाललाई केही लाभ नै पुग्छ । यही अवस्थामा निर्यात बढाउनेतर्फ कोसिस भए त्यसबाट पनि देशले फाइदा लिन सक्ने जानकारहरूको भनाइ छ । तर धेरैभन्दा धेरै पर्यटक भित्र्याउने र निर्यात बढाउनेतर्फ राज्यले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । यसकारण पनि अहिले डलरको मूल्य बढ्दा पनि नेपालले रेमिट्यान्सभन्दा अरू क्षेत्रबाट अपेक्षित रूपमा लाभ लिन सक्ने अवस्था छैन ।
विदेशी मुद्रा भित्र्याउने माध्यम अपेक्षित रूपमा सुधार हुन नसक्दा यति बेला मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व र विदेशी ऋणबापतको दायित्व पनि बढिरहेको छ । डलर बढ्दा विदेशमा अध्ययन, औषधोपचार, भ्रमणलगायतमा पनि बढी खर्चिनुपर्ने हुन्छ ।









