बाँके प्रहरीद्वारा चोरी भएका नौ वटा मोटरसाइकल बरामद

खजुरा, जेठ ७ गते । बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ । दैनिकरुपमा नेपालगन्जबाट मोटरसाइकल हराइरहेको भन्ने स्थानीयले गुनासो गरेपछि बाँके प्रहरी मोटरसाइकल चोरविरुद्ध खरोरुपमा उत्रिएको हो ।

बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका विभिन्न कम्पनीका नौ वटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जिल्लामा पछिल्लो समयमा मोटरसाइकल चोरीका घटनाहरु दैनिकरुपमा बढेको भन्ने सर्वसाधारणको गुनासोका आधारमा विशेष प्रहरी परिचालन गरेको बताउनुभयो ।

उहाँले विभिन्न स्थानबाट विभिन्न कम्पनीका नौ वटा मोटरसाइकल बरामद गरिएको र उक्त कार्यमा संलग्न चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रनाउ डाँगीका अनुसार मोटरसाइकल चोरीमा संलग्न खजुरा गाउँपालिका वडा नं. ७ का बहुर बर्मा, सोही ठेगानाका फरिद दर्जी, उमेश वर्मा र राजन सोनीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जना व्यक्तिलाई चोरी कसूरमा बाँके जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान एवम् कारबाही अगाडी बढाइएको बाँके प्रहरीले जनाएको छ ।

बरामद गरिएका मोटरसाइकलका सवारी धनि नखुलेका कारण आवश्यक कागजपत्रसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई बाँके प्रहरीले अनुरोध गरेको छ । बाँकेमा पछिल्लो समयमा दैनिकजसो मोटरसाइकल चोरीका घटना बढ्दै गएको भनेर सर्वसाधारणले गुनासो गर्दै आएका थिए ।

बाँके प्रहरीले गत वैशाख २९ गते चोरी भएका चार वटा मोटरसाइकलसहित संलग्न चार जना र वैशाख ३० गते एउटा मोटरसाइकलसहित संलग्न दुई जना व्यक्तिलाई पनि पक्राउ गरि कारबाही अगाडी बढाएको थियो ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु