मिसन–२०२६ मा पाँच खेल थप

काठमाडौँ, जेठ ७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए ।

मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार लाजिम्पाटमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले दोस्रो चरणमा पनि पाँच खेल थप गरिएको घोषणा गर्नुभयो ।

Advertisement

थप गरिएका खेलहरूमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा समान १२/१२ खेलाडीले स्थान पाएका छन् ।

भारोत्तोलन र कुस्तीमा पाँच पाँच तथा एथलेटिक्समा चार चार पुरुष/महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा रहेका छन् ।

जापानमा हुने २०औँ एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० साल माघ १५ देखि मिसन– ०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो । एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो ।

उत्प्रेरणा कार्यक्रम नायक राजेश हमालको उपस्थितिमा भएको हो । कार्यक्रममा नायक हमालले विगतको कमीकमजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिष्कृत गर्नु पर्ने बताउँदै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो । डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्ष बारे जानकारी गराउनुभएको थियो । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु