कृत्रिम रूपमा पकाइएको आँप खाँदा घातक असर

बीबीसी । प्राकृतिक रूपमा पाक्नुअघि नै बजारमा पाउन थालेका आँपमा रसायन प्रयोग गरिएको हुन सक्ने भन्दै विज्ञहरूले गुणस्तरप्रति उपभोक्ताहरू सचेत हुनुपर्ने बताएका छन्।

खाद्य प्रविधि तथा फलफूल क्वारन्टिनका मामिलाका जानकारहरूले आँपलाई कृत्रिम रूपले पकाउन क्याल्सियम कारबाइडजस्ता रासायनिक यौगिकको प्रयोग गरिने भन्दै तिनको घातक असर हुन सक्नेमा सचेत गराएका हुन्।

Advertisement

उक्त रसायनलाई फलफूलमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। तर हार्डवेअरमा सहजै पाइने भएकाले आँप र केरालाई पकाउन त्यसको प्रयोग गरिने गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बीबीसीलाई बताइन्।

नेपालमा फलफूलको क्षेत्रफलमध्ये आँपले झन्डै ५० हजार हेक्टर भूभाग ओगटेको अधिकारीहरू बताउँछन्।

आँपलाई पकाउन के गर्ने गरिएको छ?
राष्ट्रिय फलफुल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल प्राकृतिक रूपमा आँप पक्ने समय भइनसकेको भन्दै अहिले बजारमा पाइने आँप खादा ध्यान दिनुपर्ने बताउँछन्।

उनी भन्छन्, “नेपालमा अहिले आँप पाक्ने बेला भइसकेको छैन्। अलि चाँडै फल्ने आँपका प्रजातिहरू पनि भट्टीबाट धुँवा नै लगाए पनि प्राकृतिक ढङ्गले पाक्ने भनेको जेठ अन्तिमतिर मात्रै हो। त्यही भएर क्याल्सियम कारबाइड राख्यो भने आँपहरू पाक्ने र रङ्गहरू आउने हुन्छ।”

उनले क्याल्सियम कारबाइड प्रयोग गरिएका आँपले स्वास्थ्यमा असर गर्ने भएकाले आफूहरूले उपभोक्ता र व्यवसायीहरूलाई त्यस्ता आँप नखान अनुरोध गर्ने गरेको बताए।

बरालले थपे, “बजारमा कति जनाले सुई हानेर आँप पकाएको पनि भन्नुहुन्छ, तर त्यस्तो होइन्। क्याल्सियम कारबाइडको चलन एकदमै छ। हाम्रो तराई र अझ विशेषगरी भारतबाट आउने आँपमा त्यस्तो देखिन्छ।”

आँप र केराजस्ता फलफूल पकाउन प्रयोग गरिने क्याल्सियम कारबाइडले मधुमेह, क्यान्सरजस्ता समस्याको जोखिम बढाउने अध्ययनहरूले देखाएका छन्।
स्वास्थ्य विज्ञका अनुसार उक्त रसायनले स्नायुप्रणालीदेखि श्वासप्रश्वास प्रणालीसम्म असर गर्ने अध्ययनहरूले देखाएका छन्।

उपभोक्तालाई कम हानि सुनिश्चित गर्नका लागि फलफूल पकाउन तिनलाई भट्टीमा राख्ने प्रणाली स्थापना गरिएको वरिष्ठ बागवानी अधिकृत बराल बताउँछन्।

उनले भने, “फलफूलको थोक बजारमा केरा र आँपलाई भट्टी लगाउने भनेर भन्ने गरिन्छ। त्यसो गर्दा २४ घण्टाजति धुँवा लगाउने र त्यसपछि गुम्साएर राख्ने गरिन्छ। त्यसपछि रङ्ग पनि आउँछ र पाक्छ पनि। त्यो क्यालसियम कारबाइड प्रयोग गर्नुभन्दा कम हानिकारक हो।”

कृत्रिम रूपमा पकाइएका आँप खाँदा के ध्यान दिनुपर्छ?
विज्ञहरूले प्राकृतिक रूपमा पाकेका आँप खानु नै सबैभन्दा उपयुक्त हुने बताउने गरेका छन्।

उनीहरूका भनाइमा कृत्रिम रूपले पकाइएका आँप खाँदा सावधानी अपनाउनुपर्छ।

वरिष्ठ बागवानी विकास अधिकृत बराल भन्छन्, “हामी मानिसहरूलाई भोलि बिहान आँप खानुछ भने आँपको भेट्नोलाई काटेर पानीमा २४ घण्टा राख्नुपर्छ भनेर सुझाव दिन्छौँ। त्यसो गर्दा त्यो रसायनको असर कम भनेर भन्ने गर्छौँ।”

केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख आचार्यले उपलब्ध भएसम्म क्लोरिन पानीको प्रयोग गरी आँपलाई त्यसमा डुबाउनुपर्ने बताए।

उनले भने, “नुन-पानी नै प्रयोग गर्‍यौँ भने पनि एक किसिमले त्यसले काम गर्छ। खाँदा पनि बोक्रा फ्याल्ने गर्नुपर्छ। कृषक र उपभोक्ता दुवैलाई कारबाइड प्रयोग नगर्ने विषयमा अझ जानकार बनाउनु जरुरी छ।”

जानकारहरूका अनुसार आँप फुलेपछि फाल्न पाक्न साधरणतया तीनदेखि पाँच महिना लाग्ने गर्छ।

आँपमा लागेका फुलहरूमध्ये ९९.९ प्रतिशत झरेर जाने र साधरणतया ०.१ प्रतिशत फूलबाट आँप फल्ने राष्ट्रिय फलफुल विकास केन्द्रले प्रकाशित गरेको आँप खेती प्राविधिक पुस्तिकामा उल्लेख छ।

आचार्य थप्छन्, “अहिले अचार बनाउने तहमा पनि पुगेको छैन्। अब भित्र नछिप्पिएको तर बाहिर पाकेको आँप पनि आउँछ। अफ सिजनको फलफूलमा आकर्षित हुँदा त्यसमा हर्मोन, विषादी वा अरू चिज प्रयोग भएको हुन्छ। त्यही भएर सिजनको प्रयोग गर्नु राम्रो हो। किनभने त्यसमा विषादी कम हुन्छ।”

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु