कन्चनपुरमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात

 

कञ्चनपुर/ईकान्तिपुर — कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । मंगलबार राति एक जनाको उपचारका क्रममा स्थानीयले अहेव नरेन्द्र प्रसाद गैरेमाथि हातपात गरेका हुन् ।

Advertisement

 

मंगलबार राति साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेर घाइते भई उपचारका लागि स्वास्थ्य केन्द्रमा पुगेका बेलौरीका बाबुराम चौधरीको उपचारको क्रममा गैरेमाथि चौधरीका आफन्तले हातपात गरेका हुन् । उपचार सामग्री अभावले उपचारमा ढिलाइ हुँदा घाइतेका आफन्त बेलौरी नगरपालिका गोकुलपुरका राम बहादुर खड्काले गैरेमाथि गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ ।
बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहोराका अनुसार चार दिनदेखि लगातार सार्वजनिक बिदा हुँदा उपचार सामग्रीको अभाव भएको थियो । घाइतेको घाउमा टाँका लगाउनुपर्ने बेला धागो सकिएको पनि उनले बताए । ‘स्वास्थ्यकर्मीले नै पैसा दिन्छु अर्को धागो ल्याइदिनुस् भन्दा सिधै घाँटीमा समते,’ बोहोराले भने, ‘गाली गलौज पनि गरे ।’

बोहोराका अनुसार घाइते चौधरी र स्वास्थ्यकर्मी गैरे परिचित नै हुन् । त्यसैले पनि उनले स्वास्थ्य सामग्रीको अभावका बेला समेत अफैँ पैसा दिएर उपचार गर्न खोजिरहेका थिए । खड्काले एकाएक घाँटीमा समातेको उनले बताए ।

 

‘यो असह्य व्यवहार हो, उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि यसरी हातपात हुनु ठिक होइन,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले भने, ‘सबैकुरा छर्लंग छ, दोषीलाई तत्काल कारबाही गर्नुपर्छ ।’ उनले स्वास्थ्यकर्मीमाथि बिनाकारण हुने हातपात तथा दुर्व्यवहारले उनीहरुको मनोवल गिर्ने बताए ।

बोहोराका अनुसार पीडित स्वास्थ्यकर्मीले खड्काविरुद्ध इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । खड्काले यसअघि पनि स्वास्थ्यकर्मीलाई बेला बेलामा स्वास्थ्य संस्थामै आएर हातपात गर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीले हातपात गर्ने खड्कालाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए । उनले स्वास्थ्यकर्मीहरुले जाहेरी दिएको र त्यसकै आधारमा पक्राउ गरिएको बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु