आ.ब. २०७७/०७८ मा जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ७ मा दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सोरु गाउँपालिका गाउँ कार्यापालिको कार्यालय मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर बिक्रम बुढाले सोरु गाउँपालिका वडा नं. ७ अन्तर्गत दाक्च-ख्याल्च सडक निर्माण सम्बन्धमा सम्झौता बमोजिम फिल्डमा भएको वास्तविक कामको नापजाँच पश्चात एकिन गरी प्रतिवेदन पेश गर्नुपर्नेमा सो नगरी सडक निर्माणमा भएको कार्यहरुमध्ये Dry Stone Masonry Wall को कार्य ११८.९८ घनमिटर मात्र भएकोमा नापी किताव र कार्य सम्पन्न प्रतिवेदनमा ३४८.४३ घनमिटर Dry Stone Masonry भएको भनी उल्लेख गरी/गराई सम्झौता बमोजिमको कार्य सम्पन्न भएको भनी नापी किताबमा गलत विवरण उल्लेख एवं कार्यसम्पन्नस प्रतिवेदनसमेत तयार गरी सोही प्रतिवेदन समेतका कागजातहरुको आधारमा भुक्तानी प्रक्रियाको लागि टिप्पणी आदेश स्वीकृत गराई वास्तविक कार्यभन्दा रु.१३,७२,३४०।४५ बढी भुक्तानी दिएको पुष्टि भएको हुँदा निजहरु बिरेन्द्र मल्ल, प्रकाश आचार्य र बिक्रम बुढाले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुर भएकोले निजहरुलाई बिगो रु.१३,७२,३४०।४५ (तेह्र लाख बहत्तर हजार तीन सय चालीस रुपैयाँ पैतालीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन तथा वास्तविक भए गरेको कार्य भन्दा बढी भएको भनी नापी कितावमा गलत विवरण उल्लेख गरे/गराएको एवं कार्यसम्पन्न प्रतिवेदनसमेत पेस गरी गलत प्रतिवेदन दिई/दिन लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको छ।
सोरु गाउँपालिका वडा नं. ७ अन्तर्गत दाक्च-ख्याल्च सडक निर्माण श्रम समितिका अध्यक्ष हस्त बहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाले सोरु गाउँपालिका वडा नं. ७ अन्तर्गत दाक्च-ख्याल्च सडकको निर्माण कार्य सम्झौता बमोजिम गर्नुपर्नेमा शर्त एवं सम्झौता बमोजिमको कार्य नगरेको, निर्माण भएका संरचनाहरुमध्ये Dry Stone Masonry Wall जम्मा ११८.९८ घनमिटर मात्र काम गरेकोमा नापी किताव र कार्यसम्पन्न प्रतिवेदनमा ३४८.४३ घनमिटर Dry Stone Masonry को कार्य भएको भनी मूल्याङ्कन गर्न लगाई वास्तविक कार्यभन्दा रु.१३,७२,३४०।४५ बढी भुक्तानी लिएको पुष्टि भएको हुँदा निजहरू हस्त बहादुर बुमी, धौली कामी र केवल बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु.१३,७२,३४०।४५ (तेह्र लाख बहत्तर हजार तीन सय चालीस रुपैयाँ पैतालीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।
Advertisement
सोरु गाउँपालिका गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र सोरु गाउँपालिका वडा नं. ७ का तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमीले अनुगमन निरीक्षण प्रतिवेदनमा Dry Stone Masonry Wall जम्मा ११८.९८ घनमिटर मात्र काम भएकोमा ३४८.४३ घनमिटर Dry Stone Masonry को कार्य भएको भनी गलत अनुगमन प्रतिवेदन दिई दिन लागाई सो गलत प्रतिवेदनसमेतको आधारमा वास्तविक कार्यभन्दा रु.१३,७२,३४०।४५ बढी रकम भुक्तानीसमेत भएको देखिँदा निजहरु दलवीर सार्की र राजेन्द्र बुमीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (2) बमोजिको कसुर भएको हुँदा निजहरुलाई सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया









