तनहुँ, जेठ १९ गते । तनहुँको एक जना वडाध्यक्षको फेसबुक ह्याक गरी अनलाइनको माध्यमबाट पटक–पटक ठगी गर्ने प्रहरी फन्दामा परेका छन् ।
Advertisement
तनहुँको म्याग्दे गाउँपालिका– ४ का वडा अध्यक्ष दिपककुमार श्रेष्ठको फेसबुक ह्याक गरी ठगी गर्ने सर्लाहीको बागमती नगरपालिका–१ का वर्ष २६ को सुमन बुढाठोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपककुमार रायले जानकारी दिनुभयो ।
बुढाठोकीले लमजुङको मध्यनेपाल नगरपालिका–३ सूर्यपाल बस्ने आकाश गुरुङलाई म्यासेन्जरमार्फत केही रकमको आवश्यकता परेको भनी वडाध्यक्ष श्रेष्ठको फेसबुकबाट म्यासेज गरी विश्वास दिलाई इसेवाआईडीमार्फत वैशाख १९ गतेदेखी पटक पटक गरी ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको आवश्यक सहयोगमा बागमती नगरपालिका– १ बाट पक्राउ गरी अनलाइन ठगी सम्बन्धी कसुरमा बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको रायले जानकारी दिनुभयो ।
यसैगरी, तनहुँमा लागूऔषध मुद्दामा फरार रहेका तीन जनालाई पक्राउ परेका छन् । भानु नगरपालिका–१३ का वर्ष १९ का निर्मल गुरुङ, बन्दीपुर गाउँपालिका–१ को डुम्रे बस्ने वर्ष ३९ को शिवकुमार श्रेष्ठ र गुरुङटार बस्ने वर्ष ३३ को लालबहादुर सुस्लिङ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले जानकारी दिनुभयो ।
गुरुङलाई चार महिना २३ दिन कैद, श्रेष्ठलाई एक महिना कैद दुई हजार जरिवाना र सुस्लिङलाई एक महिना २० दिन कैद र दुई हजार जरिवाना तनहुँ जिल्ला अदालतले फैसला गरेको र तीनै जना फरार रहेकोले पक्राउ गरिएको रायले जानकारी दिनुभयो । तीनै जनालाई बिहीबार तनहुँ जिल्लाा अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
गोरखापत्र अनलाइन









