संकटमा मधेश प्रदेश सरकार : विश्वासको मतअघि सांसद ‘तानातान’

 

 

Advertisement

जनकपुर/ईकान्तिपुर — सारथीहरूले साथ छोडेपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार अपरान्ह ३ बजे विश्वासको मत सामना गर्ने कि राजीनामा दिने भन्ने दोधारमा छन् । अहिले जनकपुरमा हुने जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठकले यो मामिलामा निर्णय गर्दैछ ।

मुख्यमन्त्री यादव भने विश्वासको मत फेस गर्ने अडानमा छन् । उनले आफूसँग ५० जना सांसदको साथ रहेको दाबी गर्दै विश्वासको मत लिने बेलासम्म ‘परिस्थिति’ फरक पनि हुनसक्ने आकलन गरेका छन् । ‘मुख्यमन्त्रीजी विश्वासको मत फेस गर्नुहुन्छ,’ जसपा नेपालका सांसद राजु गुप्ताले कान्तिपुरसँग भने,‘हामीसँगकति शक्ति(संख्या) छ, त्यो देखाउन पनि विश्वासको मत लिनुहुन्छ । अविश्वास गरेपछि विश्वासको मत लिनु लोकतान्त्रिक प्रक्रिया नै हो । हामी त्यही प्रक्रियामा जान्छौं ।’

 

मुख्यमन्त्री यादवलाई सरकार टिकाइरहन लोसपाले पनि साथ दिएमा अझै ४ जना सांसदको खाँचो पर्छ । उनले विश्वासको मत लिने बेलासम्म ‘परिस्थिति’ फेरिने गरेको संकेतलाई एमाले, माओवादी र जनमतको गठबन्धनले सांसद ‘खरिद–बिक्री’को सम्भावना ठान्दै आफ्ना सांसदहरूलाई जनकपुरको होटलमा आएर बस्न निर्देशन दिइसकेको छ । यता लोसपाले भने जनकपुरमा केही बेरपछि बस्ने संसदीय दलको बैठकले विश्वासको मत दिने वा नदिने निर्णय गर्दैछ । तर लोसपाका प्रदेश अध्यक्ष एवं सांसद जितेन्द्र सोनलले आफूहरू लोकतान्त्रिक पक्षधरसँग उभिने बताएका छन् । ‘हामी जहाँ छौ, त्यही रहन्छौं,’ सोनलले भने,‘संघदेखि प्रदेशसम्म हाम्रो एउटै विचार र लाइन छ । डेमोक्रेसी एलायन्समा बस्ने हो । मतदान प्रक्रियाबारे केहीबेरपछि निर्णय लिनेछु ।’

यता, संघीय सत्ता गठबन्धनको पनि जनकपुरमा बैठक बसिरहेको छ । सांसदहरूलाई कसरी जोगाउने र आफ्नो पक्षमा बहुमत कसरी ल्याउने रणनीतिमा उनीहरू केन्द्रीत रहेको माओवादीका एक सांसदले बताए । दुवैतिरबाट दबाबमा रहेको रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका एकमात्र सांसद विमल अन्सारी तरुन्नुम र नागरिक उन्मुक्ति पार्टीकी एकमात्र सांसद उर्मिलादेवी सिंहलाई ‘सुरक्षित’ राख्नमा एमाले, माओवादी र जनमत गठबन्धन लागिपरेको छ ।

संघीय समाजवादीकी सांसद तरुन्नुमले भने आफ्नो दलले निर्णय नगरिसकेको बताइन् । उनले केहीबेरमा बस्ने बैठकले निर्णय गर्ने जानकारी दिइन् । ‘हामीलाई जसले जता जोडेपनि त्यसको अर्थ रहन्न । पार्टीले निर्णय गर्न बाँकी छ,’ उनले भनिन,‘दुईतिरै हामीलाई जोडेर बसेका छन् । तर, हाम्रो निर्णय भएको छैन ।’ नागरिक उन्मुक्ति पार्टीकी सांसद सिंहले सत्ता गठबन्धनमा रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने बताइन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु