नेदरल्यान्ड्ससँग नेपालको हारको लेखाजोखा, राष्ट्रिय टोलीको अबको लक्ष्य के?

बीबीसी । ग्र्यान्ड प्रेरी रङ्गशाला नेपाली समर्थकहरूले छपक्कै ढाकिएको थियो। एक छेउमा पञ्चेबाजा बजिरहेको थियो त अर्को कुनामा रातो र चन्द्र सूर्यको नारा।

अनुमान गरिए झैँ रङ्गशालाभरि निलो र रातो रङका जर्सी लगाएका समर्थकले नेपालको पक्षमा हुटिङ गरिरहे।

Advertisement

सम्पूर्ण वातावरण नेपालको पक्षमा थियो तर नतिजा नेपालको विपक्षमा गयो।

टी २० विश्वकपको पहिलो खेलमा नेपालले साथ नपाएको पक्ष भनेको ‘टस’ र ड्यालसको मौसम रह्यो।

बिहानैदेखि परेको सिमसिमे पानी परिरह्यो र त्यसपछि पारिलो घाम। मौसमको यो दुवै रूप नेपाललाई सुहाउँदो भएन। बिहानको चिसो मौसमले ब्याटिङ गर्न साथ दिएन भने दिउसो चर्केको घाम बलिङ सहयोगी बनेको देखिएन।

टस जितेको नेदरल्यान्ड्सको लागि भने मौसम सुहाउँदो बन्न पुग्यो।

‘मिस क्याच’ निर्णायक हो ?

यस्तोमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्न पठाएको नेपाली टोली १०६ रनमा समेटियो।

बलर सोमपाल कामीले स्विकारे – २० ओभरको खेलमा यो निकै सामान्य स्कोर हो।

पोस्ट म्याच प्रेस कन्फ्रेन्समा उनले भने, “टी-२० मा यति स्कोर ‘डिफेन्ड गर्नु’ भनेको निकै गाह्रो काम हो। म र करण भएको भए पनि त्यति रन त बनाइन्थ्यो।”

त्यसो भए नेपालले फुत्काएको दुई वटा क्याच हारको कारण बनेको हो ?

सोमपालले आठौँ ओभरमा लङ अनमा आएको खासै मुस्किल जस्तो नदेखिएको जस्तो क्याच फुत्काउन पुगेका थिए।

त्यति बेला ७.३ ओभरमा नेदरल्यान्ड्स १ विकेट गुमाएर ४० रनमा खेल्दै थियो र नेपाललाई विकेटको असाध्यै खाँचो परिरहेको थियो।

अर्को क्याच कप्तान रोहित पौडेलले छुटाएका थिए। तर १७.२ ओभरमा त्यो क्याच छुट्दासम्म नेदरल्यान्ड्सले ८९ रन बनाइसकेको थियो र खेल नेपालको हातबाट टाढा गइसकेको थियो।

करण केसीले क्याच छुटेको बचाउ गर्दै भने, “ क्याच छुट्नुले केही असर त पर्थ्यो। तर आज त्यसले ठूलो असर भने पारेन। यदि ठूलो स्कोर पछ्याइरहेको बेला त्यो फुत्केको भए चाहिँ ‘टर्निङ प्वाइन्ट’ हुन सक्थ्यो। यद्यपि कहीँ न कहीँ अरू राम्रो भने गर्न सकिन्थ्यो।”

२५ रन कम

पछिल्लो समय ओपनिङ जोडी जम्न नसकिरहेको बेला त्यही स्थितिले निरन्तरता पाउने हो कि भन्ने चिन्ता नेपाली समर्थकमा पहिलेदेखि नै थियो।

आखिर त्यही नै भयो।

आशिफ शेख (४ रन) र कुशल भुर्तेल (७ रन) बिचको १० रनको झिनो पार्टनरशिपपछि बिग्रिएको नेपालको लय क्रमश: बिग्रिँदै गयो।

अनिल शाह (११ रन) पवेलियन फर्किएपछि कप्तान रोहित पौडेल (३५ रन) विपक्षी बलर विरुद्ध भिडेका थिए।

आखिर मैदानमा डट्ने उनी मात्रै भए। नेपालको कुनै जोडीबीच बलियो साझेदारी हुन सकेन।

कप्तान रोहितले खेलपछि भने, “हामीलाई २०/२५ रन कम भयो। बलियो साझेदारी हुन सकेन। तर केही छैन, अर्को खेलमा हामी खेलमा फर्किने प्रयास गर्नेछौँ।”

जम्मा ३ छक्का
नेपाली ब्याटिङ यसरी खुम्चिएको थियो की १६ औँ ओभरमा आएर गुलशन झाले नेपालको लागि पहिलो छक्का प्रहार गरेका थिए।

“त्यति बेला बल्ल मन शीतल भयो” नेपालको खेल हेर्न महिनौँदेखि पर्खाइमा रहेका अमेरिकामा रहेका एक समर्थक अभिषेक कोइरालाले भने, “नेपाली खेलाडीहरूको बलिङ भने मलाई निकै प्रभावकारी लाग्यो।”

गुलशनपछि करण केसीले २ छक्का थपेका थिए। जसले गर्दा नेपालको स्कोर १०० नाघेको थियो। अन्तिम ओभरको दुई बलमा दुई खेलाडी आउट हुन पुगे।

सोमपालले सुरुमै मिचेल लेभिटको विकेट लिएर केही बेर आशा देखाएका हुन्। उनैले साइब्रान्ड इन्जेलब्रेट्चलाई शानदार तरिकाले रन आउट गर्नु नेपालको बलिङको रमाइलो क्षण थियो।

तर म्याक्स ओ डाउडले ५४ रनको धैर्यपूर्ण पारी खेल्दै नेपाललाई सहजै हराउने काम गरे। ८ बल खेल्नु अगावै टोलीले सहज रूपमा नेपाललाई ६ विकेटले पन्छाउन सक्यो।

तर पोस्ट म्याच प्रेस कन्फ्रेन्समा उनले नेपालीको मन राख्न भनिदिए, “नेपाललाई हराउन सहज भने भएन।”

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु